क्वाँटी भनेको के हो ?
वास्तवमा नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ । क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीहरूको सम्मिश्रण पाइन्छ ।
शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरू लाग्नबाट बचाउन वा शरीरको रोग विरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने प्रचलन चलिआएको हो ।
यी नौ किसमका गेडागुडी खानुका फाइदा यस प्रकार रहेको छ :
१. राजमा (रातो मिर्गौला जस्तो गेडागुडी) : यो हेर्दा मिर्गाैलाको आकार जस्तै देखिन्छ र मिर्गौलाको स्वास्थ्यमा प्रभावकारी छ । साथै यो गेडागुडीमध्ये निकै लोकप्रिय रहेको छ र सँगसँगै विभिन्न पौष्टिक तत्वहरूले पनि भरिएको छ । यसका फाइदाहरूमा यसले मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्टेरोल नियन्त्रण गर्छ ।
साथै मस्तिष्कको कार्यक्षमता बढाउने, मिर्गौलालाई सुरक्षा गर्ने र मुटुको समग्र स्वास्थ्य राम्रो राख्ने भएकोले सुगरका रोगीलाई पनि राजमाको सेवनले फाइदा नै गर्छ । यसमा पाइने प्रोटिनका कारण यो बढी स्वास्थ्यबर्धक पनि हुन्छ । त्यस्तै यसमा प्रशस्त फाइबर पाइने हुँदा यसको नियमित सेवन गर्दा पेटका समस्या र अपच हुने समस्या पनि निराकरण हुन्छ । यसमा इनर्जी, प्रोटिन, नगन्य चिल्लो, कार्बोहाइड्रेट, फाइबर, सुगर, क्याल्सियम, पोटासियम र सोडियम जस्ता विभिन्न तत्व पाइन्छन् ।
२. बोडी (कालो आँखा जस्तो गेडागुडी) : यस्ता गेडागुडीलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । बोडीको सेवनले मुटुका रोग नियन्त्रण, सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा, तौल कम गराउन सहयोग र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ । यसमा उच्च मात्रामा प्रोटिन लगायत अन्य विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् ।
३. चना (चिकपिज) : अरू गेडागुडी जस्तै चना पनि प्रोटिन लगायत विभिन्न पौष्टिक तत्वहरूको भण्डार हो । यसको नियमित सेवनले तौल कम हुने, रक्तचाप सन्तुलनमा आउने, हर्मोनहरूको उत्पादन सन्तुलित हुने र मधुमेहका रोगीलाई समेत लाभदायक हुन्छ ।
४. भटमास (सोयाबिन) : भटमास पनि प्रोटिन, फाइबर तथा विभिन्न पौष्टिक तत्वहरूको भण्डार र सुपर फुड नै हो । यसको सेवनले पनि कोलेस्टेरोल नियन्त्रित हुने गर्छ । यसमा हानिकारक चिल्लो कम हुने, एन्टिअक्सिडेन्ट तथा ओमेगा ३ फ्याटी एसिड प्रशस्त पाइन्छ ।
५. मुङ्ग (मुङ्गको दाना) : यो पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त पाइने गेडागुडी हो । यसको नियमित सेवनले मुटुका रोगहरू, रक्तचाप र कोलेस्टेरोल नियन्त्रण गर्दछ ।
६. मास (कालो ग्राम दाना) : यसमा पनि अन्य गेडागुडीमा जस्तै प्रशस्तै विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । यसको सेवन गर्नाले पाचन प्रणाली, हाडजोर्नी, प्रजनन् प्रणाली, मुटु र मिर्गौलाको कार्यक्षमता बढाउँछ । कलेजोलाई सक्षम बनाउन, उच्च रक्तचाप कम गर्न, रगतमा सुगरको मात्रा घटाउन र स्नायु प्रणालीको क्षमता बढाउन समेत यसको सेवन गर्न सकिन्छ । साथै यो पेट दुखाइ, पायल्स, कब्जियत जस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।
७. बकुल्ला : यो हाडजोर्नीको स्वास्थ्य र प्रतिरोध क्षमता अभिवृद्धि गर्ने फाइदाजनक गेडागुडी हो । यसका साथै यसको सेवनले स्नायुको कार्यक्षमता बढाई पार्किन्सन्स् रोग (मस्तिष्कको कडा समस्या) मा फाइदा पुर्याउँछ भने रक्तअल्पता, तौल, कोलेस्टेरोल कम गर्ने र रक्तचाप व्यवस्थित गर्ने जस्ता काम पनि गर्छ ।
८. केराउ : केराउको सेवनले पाचनप्रणालीको कार्यलाई सुधार गर्ने, मेटाबोलिज्म् बढाउने, मुटुको स्वास्थ्यलाई राम्रो बनाउने र सुगरको मात्रा समेत नियन्त्रण गर्ने काम गर्छ ।
९. सेतो सिमी/गेडागुडी : यो स्वस्थकर शारीरिक तौल, मांसपेशी बलियो र पाचन प्रणाली राम्रो बनाउन लाभदायक छ ।
क्वाँटी हाम्रो सांस्कृतिक प्रचलनको रूपमा जनैपूर्णिमाको अवसरमा खाने खाद्यपदार्थ हो तापनि यसको सेवन गर्नु अति आवश्यक छ । नियमित रूपमा सबै नौ किसिमका गेडागुडीयुक्त सुप बनाएर खान नसकिए तापनि जति उपलब्ध छ त्यति नै मिश्रण गरी वा मिश्रण नै नगरी कुनै एक किसिमको भए पनि गेडागुडी हामीले प्रत्येक खानामा खानु आवश्यक छ । यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन ।
गर्भवती, स्तनपान गराउने महिला, बच्चा, किशोरकिशोरी र वृद्धहरूका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो । घरपरिवारमा सबैले यसको सेवन गर्ने गरेमा रोगरहित ऊर्जावान् परिवारको कल्पना गर्न सकिन्छ ।