पर्सा । जंगली किशोर मत्ता यमगजको आतंकले पर्सा राष्ट्रिय निकुन्जको अमलेखगन्जबाट गत वर्ष अन्यत्र स्थानान्तरण गरिएका सबै पालुवा हात्ती अझै हात्तीसारमा फर्कन सकेका छैनन् ।
हात्तीसारमा अहिले नारायणगज, कामिनीकली, राप्तीकली, चिसेनलकली र महेशगज गरी ५ हात्ती मात्र फर्किएका छन् । निकुन्जको गडुवालाइन पोस्टमा मेनकाकली, भाठा पोस्टमा पवनकली र चम्पाकली तथा प्रतापपुर पोस्टमा भीमाकली र सिताश्माकली राखिएका छन् । निकुन्जको हात्तीसारमा १० हात्तीको दरबन्दी छ । विगत जस्तै दरबन्दीका सबै हात्तीलाई एकसाथ हात्तीसारमा फिर्ता ल्याइएको छैन ।
निकुन्जका संरक्षण एवं सूचना अधिकृत सन्तोषकुमार भगत यमगज मत्ता हाल पनि अमलेखगजन्ज हात्तीसार वरपर नै सक्रिय रहेको बताउँछन् । ‘यमगजकै कारण हात्तीसारका हात्तीलाई लामो समय अन्यत्र लगेर राख्नु पर्यो,’ उनले भने, ‘अब त नआउला भनी हात्तीसारका हात्ती फिर्ता ल्याउन थालियो, तर यमगज अझै वरपर नै घुमिरहेको छ ।’ २ वर्षअघि यमपन्चकका दिन बाराको अमलेखगन्जमा एउटा महिलाको ज्यान लिएकाले उक्त जंगली हात्तीको नाम यमगज राखिएको हो । त्यसयता उसले बारा, रौतहट र मकवापुरमा गरी ६ जना सर्वसाधारणको ज्यान लिइसकेको छ ।
यमगजले अमलेखगन्ज हात्तीसारका ८ पोथी हात्तीलाई पिछा गर्न नछाडेपछि सोही वर्षको मंसिर महिनामा निकुन्जको हात्तीसारबाट ती हात्तीलाई करिब २५ किलोमिटर पश्चिम निकुन्जको कोर एरिया रामभौरीभाठा पोस्टमा लगिएको थियो । यमगज त्यहीँ पुगेर हत्ते गर्न थालेपछि ती ढोइलाई थप ३७ किमी पश्चिम मकवानपुरको प्रतापपुर पोस्टमा स्थानान्तरण गरिएको थियो । प्रतापपुर पोस्ट वरपर अर्को मत्ता हात्तीसँग यमगज २ पटक जुधेको थियो । सोही मत्ताले खेदे पछि यमगज पर्सा, बारा, मकवानपुर र रौतहटको विभिन्न क्षेत्रमा २ वर्षयता घुमिरहेको छ ।
गत माघको पहिलो साता क्रमशः ढोइहरूलाई पुरानै बासस्थानमा फर्काउन थालिए पनि यमगज फेरि हात्तीसार वरीपरी नै घुमिरहेको भगत बताउँछन् । निकुन्जको मध्यवर्ती क्षेत्र अमलेखगन्जमा बाख्रा चराउने क्रममा एक महिलाको ज्यान लिएको यमगजको त्यतिबेला राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक टोली आएर २०७९ कात्तिक ४ गते डार्ट गरी दुवै दाह्रा काटेको थियो । दाह्रा काटिए पनि उसको उदण्डतामा कमी आएन ।
२ वर्षअघि पनि अमलेखगन्ज हात्तीसार वरीपरी नै बसेर रातको समयमा हात्तीसारमा प्रवेश गरेर यमगज सबै ढोइसँग जर्बजस्ती संसर्ग गर्ने र त्यहाँ रहेको मत्ता नारायणगजसँग जुध्ने गर्थ्यो । दिउँसो हात्तीसार पछाडि बस्ने र नजिकका मानव बस्तीमा पसेर खाद्यान्न चोर्ने गर्थ्यो । हाल करिब १६ वर्षको यमगजले २ वर्षअघि हात्तीसारमा ५ वर्षीया भीमाकलीबाहेक सबै ढोइसँग जर्बजस्ती संसर्ग गरेको थियो । जर्बजस्ती गर्न सक्ने सम्भावना देखेर हात्तीसारका कर्मचारीले भीमाकलीलाई जोगाएका थिए ।
निकुन्ज आउने पर्यटकलाई जंगल सफारी तथा निकुन्जमा गस्ती प्रयोजनका लागि सरकारी दरबन्दीमै हात्तीसारमा हात्ती पालिन्छन् । त्यसै अनुरुप उनीहरूको स्याहार तथ संचालनका लागि प्रत्येक हात्तीका लागि एउटा माउत, फनैत र पछुवाको दरबन्दी हुन्छ । उनीहरूले दैनिक रासन पनि पाउँछन् । एउटा हात्तीलाई दिनमा घाँस बाहेक १५ किलो धान, डेढ किलो भेली र २५ ग्राम नुन दिने गरिन्छ ।
जंगली हात्तीको समूहले वर्षेनि झापादेखि चितवन राष्ट्रिय निकुन्जसम्मको लामो यात्रा गर्ने र एउटा निश्चित समयपछि पुनः फर्कने गरेका छन् । तर २ वर्षअघि भने झापाबाट आएका मध्ये ३ वटा हात्ती लामो समयदेखि यतै बसेका छन् । प्रायः असारको अन्त्यतिर हात्तीको समूह धान र मकै बाली खाँदै मानव बस्तीको छेउछाउ चुरे सिरानको आफ्नो परम्परागत मार्ग प्रयोग गरेर यसरी लामो यात्रा गर्छन् ।