काठमाडौं । कालीमाटी तरकारी बजारमा दुई साताअघि ( साउन २३ गते) औसत १७.५० रुपैयाँ प्रतिकिलो पर्ने सानो लोकल गोलभेँडा मङ्गलवार प्रतिकिलो ४५ रुपैयाँ औसत रहेको छ । उक्त गोलभेँडा ६१.११ प्रतिशतले महँगिएको कालीमाटी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै दुई साताअघि औसत ६६.६७ रुपैयाँ प्रतिकिलो पर्ने नेपाली ठुलो गोलभेँडा मङ्गलवार प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ । उक्त गोलभेँडा २९.८२ प्रतिशतले महँगिएको छ ।
दुई साताअघि औसत २५.८० रुपैयाँ प्रतिकिलो पर्ने सानो टनेल गोलभेँडा मङ्गलवार ५४.४० रुपैयाँ प्रतिकिलो पुगेको छ । उक्त गोलभेँडा ५२.५७ प्रतिशतले महँगिएको छ ।
अघिल्ला वर्षहरूमा गोलभेँडा विक्री नहुँदा सडकमा फ्याँकेर आन्दोलन गर्नुपर्ने अवस्था थियो । अहिले भने निरन्तर रूपमा गोलभेँडाको भाउ बढ्दै गएको छ ।
नेपालको गोलभेँडा भारततर्फ गइरहेको कारण बजारमा पर्याप्त नभएको भाउ महँगिएको व्यापारीहरू बताउँछन् । गत असार महिनामा १३ लाख ४१ हजार रुपैयाँको ७३ हजार १५ गोलभेँडा भारत तर्फ निर्यात भएको केन्द्रीय भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
साउन महिनामा पनि गोलभेँडा भारततर्फ गएको हुनसक्ने व्यापारीहरूको तर्क छ ।
गत आर्थिक वर्ष भरिमा ६ लाख ७५ हजार ९२० किलो गोलभेँडा भारत तर्फ निर्यात भएको छ । उक्त गोलभेँडा निर्यात हुँदा करोड ७ लाख रुपैयाँ भित्रिएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९०–८० मा पनि १० लाख ९४ हजार ५ किलो गोलभेँडा निर्यात हुँदा १ करोड ४९ लाख रुपैयाँ भित्रिएको थियो ।
यसअघिका वर्षहरुमा भने भारत बाहेकका अन्य मुलुकहरूमा सानो परिमाणमा मात्रै निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ ।