काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आज विशेष अदालत काठमाडौंमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तिायरका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूविरुद्ध पार्क निर्माण गर्दा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नम्बर २ मा पार्क निर्माण गर्दा त्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्ल, लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशर बहादुर रावल, इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर हस्त बहादुर मल्लले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको वन कार्यालयको क्षेत्रभित्रको जग्गामा बिना अनुमति पार्क निर्माण गर्ने योजना बनाएका हुन् ।
उनीहरूले पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५ सय पेस्की समेत उपलब्ध गराएका थिए ।
तर, जिल्ला वन कार्यालयले अनुमति नदिएकाले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनाहरूसमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकी उपभोक्ता समितिलाई भुक्तानी भएको पेस्की फर्छ्यौट हुन नसकेको अख्तियारको ठहर छ ।
उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलविरुद्ध पनि मुद्दा दायर भएको छ ।
हेर्नूहोस् अख्तियारले दायर गरेको आरोपपत्रः