कालीकोट । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पार्किङ सधैँ अस्तव्यस्त हुने गरेको छ । कर्णाली राजमार्ग जोडिएको जिरोप्वाईन्टदेखि भित्री बजारसम्म जहिले अस्तव्यस्त रुपमा गाडी पार्किङ गरी राखेको देखिन्छ । साँघुरो बजारका सडक छेउछेउमा गरिने गाडी पार्किङले आवतजावत गर्न समेत कठिन हुने गरेको छ भने अर्को तर्फ दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
बजारमा गाडी पार्किङ मात्र होइन नयाँ घर बनाउनेहरुले निर्माण सामग्री थुपारेका कारण सडक झन साघुरो देखिन्छ । बिच बजारमै गरिने गाडी पार्किङका विषयमा जिल्ला प्रशासन कार्यालयको सक्रियतामा प्रायः बैठक बस्ने गरेको छ । बैठकमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राजनीति दलका अगुवा व्यापारी र यातायात व्यावसायी तथा प्राइभेट गाडीका सम्बन्धित सवारी धनि बिचमा छलफल हुन्छ । बजारमा गरिने गाडी पार्किङ तत्काल हटाउने सहमति पनि सधैँ हुने गरेका छन् । तर कार्यन्वयन भने भएको छैन ।
जिल्ला प्रशासन कार्यालयमा हुने छलफलमा समाजसेवी, राजनीति क्षेत्रका अगुवाबाट अस्तव्यस्त पार्किङदेखि निर्माण सामग्री थुपार्ने गरेको कुरा उठ्ने गर्छ । तर उनिहरुबाटै समस्या हुने भएका कारण जबरजस्ती हटाउनुको अर्को विकल्प प्रशासनसँग छैन । जिल्ला प्रशासनले यसबारे कतैबाट गुनासो नआएकाले पनि त्यसतर्फ ध्यान नगएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आफु कालीकोट हाजिर भए यता यस विषयमा कुनै गुनासो नआएकाले छलफल नभएको बताए । अब यसमा विषयमा छलफल चलाउने र कहाँ के हो समाधान तर्फ जाने उनको भनाइ छ ।
सबैभन्दा अस्तव्यस्त जिरोप्वाईन्ट बजार हुने गरेको छ । सडक छेउमा गरिने फुटपात व्यापार, सडकमा गाडी पार्किङ हुने गरेकाले दुई तर्फी सवारी सञ्चालमा समेत सकस हुने गरेको छ ।
कर्णालीमा आउने पर्यटकका गाडी होस् वा लामो दूरीका यातायातका साधनहरु होस् मान्म बजार प्रवेश गर्दा सास्ती पाउने गरेका छन् । विषेश गरेर जिरोप्वाईन्ट क्षेत्रमा सबैभन्दा बढि सास्ती हुने गरेको चालककै गुनासो छ । मान्म रास्कोट गाडी चलाउँदै आएका चालक दुर्गे सार्कीले आफुहरुलाई त यात्रु झार्ने ठाउँसम्म नहुने गरेको बताए ।
प्रहरीले बजारमै पार्किङ गर्नेहरुलाई केही भन्दैनन्, हामी बाहिरबाट जानेलाई मात्र गाडी किन रोकेको भनेर सिट्टी बजाउने गरेको सार्कीको गुनासो छ । बजारलाई खुला र सफा राख्नु पर्ने सबै व्यापारी र घरधनीको दाहित्व हो । तर मान्म बजारमा त्यो दाहित्व र कर्तव्य पूरा गर्न अनाकानी जस्तै भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले सडकमै पानी लगाउने, आफ्नो घर अगाडिको नाला सफासम्म नगरेका कारण सडकमा पानी बग्दा कालेपत्रे उत्किदा पनि नदेखेझै गर्ने नागरिकको बानीले गर्दा बजारमा समस्या आउने गरेको बताए । उनले यस्तै नागरिकहरुका लागि प्रहरी प्रशासन, कानुनको आवश्यत्ता भएको भन्दै यसमा हामीभन्दा पनि प्रमुख जिल्ला अधिकारीले समन्वय गर्नुपर्ने उनको भनाइ छ । अस्तव्यस्त गाडी पार्किङ र घरको ढल तथा पानी सडकमा बगाउने चलनका कारण बजार दुगन्धित र सडक जीर्ण हुने गरेका छन् ।