काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रजातन्त्रभित्र समाजवाद र समाजवादभित्र प्रजातन्त्र खोज्ने प्रवृत्ति राजनीतिभित्र जति बलशाली हुन्छ, त्यसले राजनीतिलाई त्यति सही बाटोमा लैजाने बताएका छन् ।
नेपाली कांग्रेका नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज आज जुन प्रकारको चुनौतीबाट गुज्रिएको छ, त्यो नेपाली कांग्रेस र नेकपा एमालेको मात्र सरोकारको विषय नभएको प्रष्ट पारे ।
राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको उनले बताए ।
राज्य र नागरिक जोडिँदा मात्र देश सही दिशामा अघि बढ्न सक्ने उनले बताए । ‘राज्य र नागरिक बीचको अन्तरसम्बन्ध जब गहिरो हुन्छ, तब देश बन्दछ, आज नेपाली समाजमा नागरिक र राज्य जोडिन सकेकै छैनन्, जब नागरिक र राज्य जोडिन सक्दैनन्, लोकतन्त्र सफल हुन सक्दैन,’ उनले भने ।
नेपालको समाजभित्र विद्रोहको चेतले घर गरेकाले जसले विद्रोह र अराजक कुरा गर्दछ त्यसको पछाडि नागरिक लाग्ने गरेका उनले बताए । यसले समाजलाई सही दिशातर्फ अघि बढाउन नसक्ने उनको धारणा छ ।
उनले नेपालको संसद्भित्र समेत असमानताले घर गरेको बताए । संसद्मा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउनेले आफूलाई ‘क’ वर्गको ठान्ने र समानुपातिक प्रणालीबाट आउनेलाई अर्कै दर्जाको ठान्ने प्रचलन रहेको उनले बताए । उनले संविधानले व्यवस्था गरेको निर्वाचन प्रणाली नै असमान रहेको दाबी गरे ।
‘चुनाव जित्नेहरूले ‘क’ वर्गको ठान्ने, समानुपातिकले ‘ख’ वर्गको ठान्ने,’ उनले भने ।
समानुपातिक समावेशितालाई सबै सांसदहरू समान हुन् भन्ने ढाँचामा लैजानुपर्छ भन्ने मान्यता नेपाली कांग्रेस र नेकपा एमालेबीच रहेको उनले बताए । त्यसमा कसैको असहमति हुनु नपर्ने पोखरेलले बताए ।