काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षबीच मध्यराति भएको सहमतिले संविधान संशोधन सम्भव नभएको बताएका छन् ।
‘स्कूल अफ डेमोक्रसी’ संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले संविधान संशोधन सम्भव नभएको बताए ।
संविधानले के दिएको र के नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा उनले फरक मत नरहेको बताए ।
‘तर मध्यरातमा गएर २ वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन,’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘त्यो गर्नुपर्ने हो भने खुला बहस गरौं ।’
जनता र देशका निम्ति समर्पित भएर रूपान्तर हुन नसक्नेले अरूलाई रूपान्तरण गर भन्ने हक नराख्ने उनले बताए ।
उनले भने, ‘जबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौं । हामी त्यो अनुरूप रूपान्तर हुँदैनौं भने अरुलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौं ।’
नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको उनले बताए । नेपालका दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उनले बताएका छन् ।