काठमाडौं । आज रोपाइँ जात्रा मनाइँदै छ । रोपाइँ जात्रा धानको रोपाइँ सकेपछि गाईजात्राको भोलिपल्ट मनाउने गरिन्छ । रोपाइँ जात्रा नेवार संस्कृतिबाट शुरू भएको मानिन्छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।
यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको र राजा प्रताप मल्लले सुरुवात गरेको मानिन्छ । यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी गाउँने र नाच्ने गरिन्छ । विशेष गरी नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । तर ठाउँअनुसार फरक–फरक तरिकाले मनाउने चलन छ ।
यसैबीच काठमाण्डौको बौद्धमा आज गाईजात्रा तथा रोपाइँ जात्रा विशेष कार्यक्रम हुँदैछ । गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समिति, बौद्धले साँस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइँ जात्रालाई जीवित राख्ने उद्देश्यले यसवर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दिएको छ ।
जात्रामा घिनतिङ नाका कार्यक्रम, घोनाई कार्यक्रम, हाँस्य व्यङ्ग्य तथा साँस्कृतिक कार्यक्रम र रोपाइँ जात्रालगायतका कार्यक्रम आयोजना गरिएको समितिका संयोजक जनमङ्गल लामाले बताउनुभयो । जात्रामा प्रस्तुत हुने विविध विधामा लाखे, रोपार, बाउसे, हाँस्य-व्यङ्ग्य, झाँकी, ख्याली, बाल रोपार, बाल बाउसे, बाल लाखे, हलि र घाडा रहेका छन् ।