काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।
आयोगले प्रेस विज्ञप्ति जारि गर्दै गाउँपालिका वडा नं. १ खैरबामा बाटो ढलानको कार्य गर्दा कमसल सामाग्रीहरू प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको उजुरी प्राप्त भइ अनुसन्धान गर्दा प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, तत्कालीन सव-इन्जिनियर श्याम किसोर मण्डलले पिपरा गाउँपालिका वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पी.सी.सी ढलान कार्यमा नगरेको कार्यलाई बढी काम भएको नापी किताब तयार पारेको बताएको छ ।
साथै उक्त योजनाको बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई १ लाख ४८ हजार ९१० बढी भुक्तानी दिई सरकारी रकम हानिनोक्सानी पुर्याएको आरोप लगाएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको कसुरमा एक लाख अठचालीस हजार नौ सय दश रुपैँया बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी लिएको समेत जनाएको छ ।
आयोगले विज्ञप्तिमार्फत निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहले एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पी.सी.सी ढलान कार्यमा बढी काम भएको नापी किताब तयार पारी १ लाख ४८ हजार ९१० बढी मूल्याङ्कन गराई गलत नापी किताब, बिल भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गराएको बताएको छ ।
साथै साहले नगरेको काममा १ लाख ४८ हजार ९१० बढी भुक्तानी लिई सरकारी रकम हानिनोक्सानी पुर्याएको पुष्टि भएको जनाएको छ । आयोगले निजउपर भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा एक लाख अठचालीस हजार नौ सय दश रुपैँया बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम बिगो जफत हुनसमेत मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरेको बताएको छ ।
हेर्नूहोस् अख्तियारले दायर गरेको आरोपपत्रः