काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने भएको छ ।
बुधवार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले स्थानीय तह निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
बैठकमा स्थानीय उपनिर्वाचनबारे छलफल भएको र निर्वाचनमा सहभागी हुने निर्णय भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले भने, ‘हामी संसद्को चौथो ठूलो दल हौं । त्यसैले निर्वाचनमा सहभागी नहुने भन्ने हुन्न । पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी हुन्छ ।’
देशभर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित ३५ स्थानीय तहका पदाधिकारी रिक्त छन् । आगामी मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकामा अध्यक्षको पद रिक्त छ । जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बाजुराको स्वमीकार्तिक खापर गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका उपप्रमुख/उपाध्यक्ष पद रिक्त छ । २८ वडामा अध्यक्ष पद रिक्त रहेको छ ।
यसअघि स्थानीय निर्वाचन हुँदा रास्वपा गठन भएको थिएन । उपनिर्वाचनमार्फत रास्वपा पहिलोपटक स्थानीय निर्वाचनमा सहभागी हुनेछ ।