काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस संग्रहालयका निम्ति सञ्चार सम्बद्ध पुराना सामग्री उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।
बिहीबार एक अपिल जारी गर्दै काउन्सिलले ३ वर्षअघि सुरु गरेको प्रेस संग्रहालयका लागि सञ्चारसम्बद्ध ऐतिहासिक सामग्री उपलब्ध गराउन विभिन्न सञ्चार माध्यम, सञ्चार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैरसरकारी निकायहरूलाई अपिल गरेको हो ।
काउन्सिलले संग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई पुनः पत्राचार गर्ने निर्णय समेत गरेको छ । ३ वर्षअघिदेखि काउन्सिल परिसरमा संग्रहालय स्थापना गरी ट्रेडल मशिन, कटिङ मशिन (म्यानुअल), केस नेपाली र अंग्रेजी (फन्टसहित रूलर सहितको प्रूफ मशिन), विभिन्न आकारका चिम्टा, स्टिक, विभिन्न आकारका रुलरहरू, हेडिङ ब्लक फोटासहित, जिंक ब्लक (पुराना फोटासहित), ग्यालीहरू, फ्रेम/साँचो/सेटधागो, हाते टाइपराइटर र फ्याक्स मशिन, पुराना कम्प्युटर मनिटर संग्रहित गरेर राखिएको छ ।
काउन्सिलले स्थापना गरेको संग्रहालय विश्व प्रेस इतिहासमा नै पहिलो र उदाहरणीय हो । यसबाट प्रेसको इतिहास अध्ययन र अनुसन्धानका लागि टेवा पुग्ने अपेक्षा छ ।
‘वर्तमान तथा भावी पुस्तालाई प्रेससँग सम्बन्धित पुराना सामग्रीहरूबारे जानकारी गराउँदै विभिन्न कालखण्डमा विकास एवं प्रयोगमा आएका ऐतिहासिक महत्त्वका छापाखानासहित सामग्रीहरू संग्रहित गरी सोको जगेर्ना गर्नुका साथै प्रेसको इतिहास अध्ययन अनुसन्धानको थलोको रूपमा विकास गर्नु प्रेस संग्रहालयको मुख्य ध्येय हो,’ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी अपिलमा भनिएको छ ।
काउन्सिलले संग्रहालयका लागि छुट्टै सब–डोमेन वेबसाइट समेत सञ्चालनमा ल्याएको छ ।