काठमाडौं । नेपाली कांग्रेसले मर्स्याङ्दी बस दुर्घटनाले स्तब्ध बनाएको जनाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको जनाएका छन् ।
भारतीय पर्यटक सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबारै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग२ख ४७ नम्बरको बस दुर्घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । पोखरातर्फ जाँदै गरेको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगाका कारण अनियन्त्रित भई दुर्घटना भएको थियो ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियार, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, बलबहादुर केसी लगायतले आ–आफ्नो धारणा राखेका छन् ।