काठमाडौं । सोलुखुम्बुको थामेमा बाढी आउने गरी हिमताल विस्फोट हुनुको कारण भूक्षय र भूपरिवर्तन रहेको जल तथा मौसम विज्ञान विभागले निष्कर्ष निकालेको छ ।
विभागले हिमताल विस्फोटबारेमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विस्फोट भएको हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह अर्थात ग्राउन्ड सर्फेमा आएको भूक्षय र भूपरिवर्तन अर्थात कम्पाउन्ड क्यासकेडिङ इफेक्टले हिमताल विस्फोट भई तटीय क्षेत्रमा बाढी आएको जनाएको हो ।
गएको साउन ३२ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमताल विस्फोट भएर थामे खोलामा बाढी आउँदा थामे बस्तीसहित दुधकोशी तटीय क्षेत्रमा समेत क्षति पुगेको थियो । थामे खोलाको शिरमा पाँचवटा ताल देखिन्छन् । तर विस्फोटअघि ती पाँचैवटा तालबारे खासै चर्चा भएको थिएन ।
सन् २०१५ मा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमतालहरूको विवरण प्रकाशित गर्दा थामे जलाधार क्षेत्रमा रहेका हिमतालहरु १, २, ३, ४, ५ मध्ये, २, ३ र ४ मात्रै देखिएको विभागले जनाएको छ । १ र ५ गरी दुईवटा ताल अभिलेखमा नदेखिए पनि त्यतिबेलाका स्याटेलाइट तस्बिरहरूमा भने देख्न सकिने विभागले जनाएको छ ।
विभागको अनुरोधमा अर्थ अब्जरभेटर सिङ्गापुरले पनि स्याटेलाइट तस्बिरको विश्लेषण गरेको छ । अर्थ अब्जरभेटर सिङ्गापुरले पनि माथिल्लो हिमताल १ को प्राकृतिक बाँध भन्दा तलबाट हिमताल २ सम्मको क्षेत्रमा उल्लेख्य भूहलचल आएको देखिएको विभागले बताएको छ ।
विश्लेषणमा हिमताल १ भन्दा माथिल्लो क्षेत्रको पूर्ण जानकारी प्राप्त हुन नसकेको विभागले जनाएको छ । विभागको अनुरोधमा सेन्टिनियल एशिया र जापानको यामागुची विश्वविद्यालयबाट थामे शिरका पाँच हिमतालहरूको पानीको क्षेत्रफल बढे-नबढेकोबारे अध्ययन गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।