काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अधिकार खोस्ने दुस्साहस गरेमा फेरि सडकमा जाने तयारी रहेको चेतावनी दिएका छन् ।
शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै उनले जनताको इच्छा–आकांक्षा विपरीत जाने हो भने दुईतिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको स्मरण गराए ।
‘हिजो जनयुद्धको दमन गर्ने बेलामा पनि दुईतिहाइ थियो, तपाईंहरूले जनयुद्ध रोक्न सक्नुभयो ?’ उनले भने, ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुईतिहाइवालाका कारण होइन ।’
नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धनले संविधान संशोधनको तयारी गरेकोप्रति उनले असन्तुष्टि जनाए । ‘अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे ! हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनःस्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौं, जान्छौं ।’
अध्यक्ष प्रचण्डले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले २०६४ सालकै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताए ।
उनले पार्टीलाई २०६४ सालकै हाराहारीमा पुर्याउने सूत्र पनि कार्यकर्ताहरूलाई सुनाए । ‘अब हामी २०६४ सालको निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौं, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्यौं, अब नयाँ भएर आएका छौं भनेर प्रतिबद्धता व्यक्त गर्नेछौं,’ उनले भने, ‘२०६४ सालको निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरूको देश र पार्टीप्रतिको बुझाइ अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न हामी सबै लाग्ने छौं ।’
जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरूका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफू देशव्यापी अभियानमा निस्किन थालेको बताए । परिवर्तनको महत्त्वपूर्ण आधार जनयुद्धको महत्त्वले स्थापित गरिएको उल्लेख गर्दै उनले भने, ‘जनयुद्ध दिवसलाई राष्ट्रिय बिदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामीले अघि बढाएका छौं । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं ।’
पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएर गएका पार्टीहरूसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताए । ‘३ प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहितको बैठक सकिएको छ,’ उनले भने, ‘पार्टी पूर्ण रूपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फुटाउन सक्दैन, बरु फुटेका गएका शक्तिलाई पनि केही समयभित्रै पनि एक बनाएर लगिनेछ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’