काठमाडौं । नेपाली कांग्रेस महानगर समितिले वडाको उम्मेदवार छनोट गर्दा स्थानीय तहलाई पूर्ण अधिकार दिन माग गरेको छ ।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज यहाँ आयोजना गरेको ‘अन्तर महानगर भेला’ ले स्थानीय तहका समितिअन्तर्गतका वडामा निर्वाचनमा उम्मेदवार छनोट गर्दा तत्तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिश्चितताको माग गरेको हो ।
भेलाले कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारी एवं सदस्यको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनका लागि केन्द्रीय कार्यसमिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यलाई लिखित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय महासमिति-महाधिवेशनमा स्थानीय तहका समितिबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउनका लागि विधानमा व्यवस्था गर्नसमेत माग गरेको छ ।
स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समयसापेक्ष नभएको हुनाले समयसापेक्ष हुने गरी, पदाधिकारी समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गर्ने निर्णय गरेको हो ।
मुलुक सङ्घीयतामा गएको अवस्थामा सो भावना र मर्मअनुरूप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्त्वको भएकाले सोहीअनुरूप पार्टीका सङ्गठनलाई पूर्ण अधिकारको सुनिश्चितता गर्न माग गरिएको कांग्रेस काठमाडौं महानगर समितिका सभापति नीलकाजी शाक्यले जानकारी दिए ।
भेलामा पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छे, ललितपुर महानगर समिति सभापति शुभान्नरत्न धाख्वा, भरतपुर महानगर समिति सभापति चित्रसेन अधिकारी, विराटनगर महानगर समिति सभापति दीपक चापागाईँ र वीरगञ्ज महानगर समिति सभापति मणिचन्द्र नेपालीको सहभागिता रहेको थियो ।