काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (आइतबार) गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रुपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायतका विविध कार्यक्रम तय गरेको छ।
असोज २ गते काठमाडौंको नारायणहिटी (दरबारमार्ग) मा साङ्गीतिक महोत्सव (नेसनल डे कन्सर्ट) र दिवसका दिन असोज ३ गते काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ।
यस्तै, असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झण्डा फहराउन आव्हान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुदाय र भूगोलका जनताले स्वतःस्फूर्तता भव्य रुपमा दिवस मनाउनुपर्ने बताए।
उनले सामाजिक जीवनका सबै क्षेत्र परिचालित हुने गरी सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, “संविधान दिवस देशको सबैभन्दा ठुलो चाड हो। यो कुनै जाति, समुदाय र भूगोल विशेषको होइन, सिङ्गो देशको वार्षिक मेला हो। त्यसअनुसार मनाउने तयारी गर्न म सबैलाई आग्रह गर्दछु।’’