काठमाडौं । राष्ट्रिय परिचयपत्र दर्ता गर्दा थप रुजु वा इन प्रोसेसमा रहेका व्यक्तिहरूको विवरण अब नारायणहिटी दरबार परिसरबाट प्राप्त हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार एक सूचना जारी गर्दै विभाग अन्तर्गतको नारायणहिटी दरबार परिसरबाट यो सेवा लिन सकिने व्यवस्था गरिएको जनाएको हो ।
यसअघि विभागले मात्र प्रदान गर्दै आएको यो सेवा अब नारायणहिटीबाट मात्र वितरण गरिने छ । साथै, सेवाग्राहीहरूले विभागको वेबसाइटमा आवेदन दिएर आफ्नो विवरणको पछ्यौट गर्न सक्ने सुविधा पनि प्रदान गरिएको छ ।
राष्ट्रिय परिचय नम्बर (एनआईएन) प्राप्त नगरेका सेवाग्राहीहरूलाई लक्षित गर्दै विभागले एउटा पोर्टल सञ्चालनमा ल्याएको छ, जसको माध्यमबाट नागरिकहरूले आफ्नो विवरण प्रविष्ट गरी राष्ट्रिय परिचय नम्बर र भर्पाई प्राप्त गर्न सक्नेछन् । यो सुविधा विशेष गरी भर्पाई हराएका नागरिकहरूका लागि अत्यन्तै लाभदायक हुने अपेक्षा विभागको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका नागरिकहरूलाई परिचयपत्र वितरण र विवरण दर्ता प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्थाहरू लागू गरेको छ । हाल, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू, ५४ वटा इलाका प्रशासन कार्यालय, १ सीमा प्रशासन कार्यालय, र विभिन्न स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन र वितरण कार्य भइरहेको छ । यस प्रक्रियामा सहभागी सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै विभागले केही महत्त्वपूर्ण सुधारहरू गरेको छ ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा, सेवाग्राहीहरूले विभागको टोल फ्रि नम्बरमा बिहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म सम्पर्क गर्न सक्नेछन् ।