काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छन् ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालमा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैं स्वागत गर्ने बताइन् ।
नेपाल र चीनबिच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुने बताइन् ।
आफूहरूले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशब्यापीरुपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उल्लेख गर्दै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताइन् ।
नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवपर्वर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उनले स्मरण गराइन् ।
विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिन्छ विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशहरुसँग ज्ञान र सिपको आदानप्रदान गर्न चाहेको बताइन् ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले सूचना प्रविध र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए ।
दुबै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उनले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताए ।
चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उनले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताए ।
नेपालको नयाँ पुस्तामा डिजिटल वर्ल्ड तयार गर्न सके यसबाट यहाँको समृद्धिको ढोका खुल्ने पनि राजदूत सोङको विश्वास थियो ।
उनले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । भेटमा दुबै देशका अधिकारीहरूको सहभागिता रहेको थियो ।