काठमाडौं । पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले डेडिकेटेड र ट्रंकलाइनको सन्दर्भमा नेतृत्व तहमा नीतिगत अस्थिरता देखिएको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरूसँग मंगलबार गरेको छलफलमा बस्नेतले यस्तो बताएका हुन् ।
बस्नेतले पूर्व ऊर्जासचिव दिनेश घिमिरे नेतृत्वको समितिले ०७२ माघदेखि ०७५ वैशाखसम्मको बक्यौता उठाउन सुझाव दिएको बताए ।
त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीकै मन्त्रिपरिषद्बाट स्वीकृत गरेर काम अघि बढाएको स्मरण गराए । डेडिकेटेड र ट्रंकलाईनको सन्दर्भमा मन्त्रालयको धारणा के हो भन्ने सार्वजनिक भइनसकेको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले बक्यौता उठाउन किन लाइन काटियो ?, पहिला किन प्रश्न गरिएन भन्ने अभिव्यक्ति सार्वजनिक भइरहेको भन्दै बस्नेतले नीतिगत स्थिरता देखिएको बताए ।
‘सचिवहरूको कार्यदलले प्रतिवेदनलाई प्रधानमन्त्री ओलीज्यूकै मन्त्रिपरिषद्ले स्वीकार गरेको थियो । यसबाहेक अन्य निर्देशनहरू पनि छ,’ उनले भने, ‘तर अहिले किन लाइन काटियो ?, किन पहिला उठाइएन, प्रश्न गरिएन भन्ने आइरहेको छ । यसमा सोचाइ र नीतिगत स्थिरता देखियो,’ उनले भने ।
नेतृत्व तहमा देखिएको यस प्रकारको अस्थिरताले समस्या समाधान नहुने उनले बताए । ‘०७४ सालमा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसबेला मन्त्रिपरिषदमा के–के छलफल भयो ।, त्यसयता मन्त्रालयलाई के-के निर्देशन जारी भएका छन् । मलाई राम्रोसँग जानकारी छ,’ उनले भने, ‘पछि म मन्त्रालयमा आइसकेपछि पनि ती निर्देशनहरूको अध्ययन गरेको छु ।’