काठमाडौं । सिरहामा लघुवित्त पीडितले दुई लघुवित्त वित्तीय संस्थामा आगजनी गरेका छन् । गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा पीडितहरूले आगजनी गरेका हुन् ।
मंगलबार दिउँसो करिब २० जनाको समूहमा आएका पीडित महिलाहरूको समूहको आगजनीबाट दुवै वित्तीय संस्थाका कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरणसमेत जलेको छ ।
सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात जलेको छ । दुई–तीनजना गरी ग्राहकजस्तै भएर आएका महिलाले एक्कासि कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएको उनको भनाइ छ ।
यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुईवटा डेक्सटप कम्प्युटर फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको जनाइएको छ ।
आगजनी घटनापछि यसको जिम्मा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले लिएको छ । सरकार र संघर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू संघर्षमा जान बाध्य भएको संघर्ष समितिको आरोप छ ।
‘अर्थ मन्त्रालय, राष्ट्र बैंकका प्रतिनिधि र संघर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन,’ संघर्ष समितिका मधेश प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले भने, ‘पीडितहरूले पीडा खप्न नसकेपछि यो कारबाही भएको हो ।’
यता, प्रहरीले आगलागीमा संलग्न रहेको आरोपमा १० जना महिलालाई मंगलबारै नियन्त्रणमा लिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए । ‘उनीहरू हाम्रो नियन्त्रणमा छन्, अनुसन्धान भइरहेको छ,’ उनले कान्तिपुरसित भने, ‘यसपछि कसरी अगाडि बढ्ने भन्ने टुंगोमा पुग्छौं ।’