संखुवासभा । संखुवासभाका सुरेन्द्र लामालाई यतिखेर मिर्गौलाले मात्रै होइन, आफन्त र समाजले समेत साथ नदिएको महसुस हुन थालेको छ । विदेशबाट कमाएर पठाउँदासम्म उनलाई सबैले ख्याल गर्थे । ‘अहिले त बोल्न पनि डराउँछन् । आफ्नै भनिएकाहरू त पराइ भएपछि अन्यको के कुरा गर्नु !’ लामा दुखेसो पोख्छन् ।
आठ वर्ष वैदेशिक रोजगारीमा बिताएका ३२ वर्षीय लामा यतिबेला मृत्युसँग संघर्ष गरिरहेका छन् । मिर्गौलामा समस्या आएपछि उनी तीन वर्षअघि (२०७९ मा) कतारबाट नेपाल फर्केका थिए । नेपाल आएको केही महिनादेखि उनले वनस्थलीस्थित ‘नेसनल किड्नी सेन्टर’मा डायलाइसिस गराउँदै आएका छन् । सातामा तीनपटक डायलाइसिस गर्नुपरेकाले सुरु (२०७९ साल)देखि नै उनी सेन्टरको नजिकै कोठा भाडामा लिएर बस्न थालेका हुन् । सुरुमा त उनलाई आफन्तको साथ थियो, पैसा सकिएपछि श्रीमतीले समेत छाडेको उनको गुनासो छ ।
नेपाल आउँदा उनलाई कम्पनीले साढे दुई लाख रुपैयाँ जति दिएको थियो । गाउँतिरका साथीभाइले चन्दा उठाएर पनि सहयोग गरे । सुरुमा उनलाई उपचारमा त्यति समस्या भएन । पैसा सकिँदै गएदेखि उनी तनावमा छन् ।
नेपाल आएर शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको मिर्गौलाले ८० प्रतिशत काम गर्न छाडिसकेको रहेछ । शिक्षण अस्पतालको बेडमा ढलिरहेकै बेला एक छोरा र एक छोरी लिएर उनकी श्रीमती सम्पर्कविहीन भइन् । ‘कामै गर्न नसक्ने भएपछि तिमीसँग बसेर के गर्नु भनेर छोराछोरी लिएर श्रीमती हिँडिन् । अहिलेसम्म सम्पर्क छैन,’ लामाले भने, ‘अहिले एक्लै छु । विदेशबाट कमाएर ल्याएको पैसा उपचारमै सकियो । गाउँमा अलिकति जग्गा किनेको थिएँ, त्यो पनि बेचिसकेँ ।’
‘विदेशमा कमाएको सबै पैसा घर पठाएँ । घर खर्चमै सबै पैसा सकियो । अहिले पैसा कमाउन नसक्ने भएपछि तिनै श्रीमतीले छाडेर गइन्,’ उनी दुखेसो पोख्छन्, ‘छोराछोरीको मुख देख्न पनि पाएको छैन ।’
अहिलेसम्म औषधि खरिद लगायत बस्न–खानमा करिब १० लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । अझै कति खर्च लाग्ने हो, कहिलेसम्म उपचार गर्ने हो ? बेला बेला मनमा आउने यस प्रश्नले उनलाई पीडा दिन्छ ।
डायलाइसिस त उनले निःशुल्क रूपमा पाइरहेका छन्, औषधिसँगै खान–बस्नका लागि मासिक २०–३० हजार रुपैया खर्च हुन्छ । त्यो खर्च जुटाउन आफन्त र चिनजानका मान्छेसँग ऋण माग्दा–माग्दा उनी हैरान भएका छन् ।
‘विदेशमा कमाएको सबै पैसा घर पठाएँ । घर खर्चमै सबै पैसा सकियो । अहिले पैसा कमाउन नसक्ने भएपछि तिनै श्रीमतीले छाडेर गइन्,’ उनी दुखेसो पोख्छन्, ‘छोराछोरीको मुख देख्न पनि पाएको छैन ।’
मिर्गौला प्रत्यारोपण गर्न उनलाई धेरैले सुझाएका छन्, तर त्यतातिर उनले कुनै सम्भावना देखेका छैनन् । किनभने मिर्गौला दिने पनि आफन्त चाहिन्छ ।
घर–परिवारको सुखद् भविष्यका लागि उनी सुरुमा मलेसिया पुगेका थिए । त्यसपछि साउदी हुँदै कतार पुगेपछि उनलाई स्वास्थ्यमा समस्या देखिन थाले । हातखुट्टाहरू गल्ने, नाकबाट रगत आउने, खाना नरुच्ने, जे खायो त्यस्तै बान्ता हुने, जिउ गल्ने हुन थालेपछि उनी आत्तिए र साथीभाइको सुझावमा उपचार गर्न नेपाल फर्केका थिए ।
‘कतारमा रहँदा साथीहरूले दिनभर गर्मीमा काम गरेर फर्केपछि एक्कासि एसीमा नजानु, एकछिन बाहिरै बसेर मात्रै भित्र जानु भन्थे,’ उनी आफ्नो मिर्गौला बिग्रनुको कारण अनुमान गर्छन्, ‘४५–४६ डिग्री तापक्रममा काम गरेपछि जति सकिन्छ चाँडो चिसोमा बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो र एसीमा जान्थेँ, त्यसैले मिर्गौला बिग्रिएछ ।’