भैरहवा । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गलत मनसायले गतिविधि गर्ने जो कोहीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्न आएका कुँवरले यस्तो बताएका हुन् ।
सडकमा उभिने ट्राफिक प्रहरीप्रति लक्षित गर्दै वर्षौँसम्म वृत्ता जमाएर बस्ने प्रहरीको तत्काल सरुवा गर्नु पर्ने र नेपाल प्रहरीलाई बदनाम हुने काम भएको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई सेवा चुस्तदुरुस्त राख्न निर्देशन दिए । ट्राफिक प्रहरीबाट सडकमा अनुचित लेनदेन भएका खबर व्यापक आइरहेकोले रुपन्देही ट्राफिक सम्पत्ति शुद्धिकरणबाट उन्मुक्ति पाउन नसकेको बताए । प्रमुख कुँवरले प्रहरीका परिवारजन र आफन्त सम्मको बैंक खाता चेक गर्ने बेला आएको बताए ।
भवन उद्घाटन समारोहमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले लुम्बिनीको प्रवेशद्वार भएको ठाउँमा ट्राफिक व्यवस्थापन फितलो भएको र ओभरलोड बोकेर आउने भारतीय गाडीलाई १ हजारको जरिवाना गरेर सडक बनाउन नसकिने बताए । उनले ट्राफिक प्रहरीले सेवा प्रवाहमा कमी भएका कारण नेपाल भित्रने पर्यटकले समेत दुःख पाउने गरेको गुनासो गरे ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देही जिल्ला नेपालमै उत्कृष्ट भएको स्मरण गर्दै यसको साख जोगाउन कर्मचारी र नेपाल प्रहरी एक भएर लाग्नु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जित सिंह राठौरले वर्षौँ देखि सानो र पुरानो भवनबाट काम हुँदै आएकोमा अब सुविधा सम्पन्न भवनबाट काम हुने बताउँदै भवन बनाउन पहल गर्नेहरूलाई धन्यवाद दिए ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी कुबेर कडायतले लुम्बिनी प्रदेशको सुरक्षाका लागि दिनरात लागि परेको बताउँदै महानिरीक्षकको निर्देशन पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाए ।
नेपाल प्रहरीका विभिन्न स्तरका प्रहरी इकाईहरू मध्ये व्यवस्थित भौतिक संरचनाहरू नभएका इकाईहरूमा क्रमिक रूपले व्यवस्थित र गुणस्तरीय निर्माण गर्दै लैजान नेपाल सरकारबाट प्राप्त नियमित बजेट अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हाता भित्र कार्यालय भवन, हिरासत भवन, ब्यारेक भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, मेस भवन लगायत अन्य भौतिक संरचनाहरू निर्माण भएका छन् ।
१४ करोड ९६ लाख ९४ हजार ५ सय ९१ रूपैयाँमा २०७६ माघ १७ गते सुरु भई २०८१ साउन ३१ गते भवन निर्माणको काम सम्पन्न भएको थियो । कार्यक्रममा भवन निर्माणका लागि विशेष योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।