मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले काम गर्न अप्ठेरो भएको भए सहज हुने गरी कानुन निर्माण गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
पदभार ग्रहण गरेको एक महिना पुगेको सन्दर्भमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेटौंडामा उपलब्ध मन्त्रीहरुसँग छलफल गर्दै मुख्यमन्त्री लामाले जनताले ‘देखिने गरी काम गर्न’ मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार मुख्यमन्त्री लामाले मन्त्रीहरुसँग एक महिनाको अवधिमा गरेका कामको विषयमा जानकारी लिँदै समस्याको समाधानको उपायका विषयमा समेत चासो राखेका थिए ।
‘सबै मन्त्रालयको प्रगति र समस्याको विषयमा जानकारी लिएर हामीलाई काम गर्न अप्ठेरो भएको भए सहज हुने गरी कानुन निर्माण गर्न र संशोधन गर्न निर्देशन भएको छ’, उनले भने ।
बैठकमा सहभागी मन्त्रीहरुले प्रदेशभरको विपद्को अवस्थाको विषयमा समेत मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । ‘विपद्को व्यवस्थापन र क्षतिको विषयमा जानकारी मुख्यमन्त्रीलाई गराएका छौं । कुनै औपचारिक निर्णय भएको छैन ।’, मन्त्री लामिछानले भने ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रालयगतरुपमा धेरैले समस्या मात्र मुख्यमन्त्री समक्ष राखेका थिए । ‘अघिल्लो सरकारले बजेट ल्याएको, पुँजीगत खर्च असाध्यै कम रहेको विषयमा धेरै गुनासो मन्त्रीहरुको थियो,' एक मन्त्रीका अनुसार मुख्यमन्त्रीले मन्त्रालयगतरुपमा कार्य सम्पदान करार सम्झौताको विषयमा समेत जानकारी लिएका थिए ।
बैठकमा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी र उद्योग, बाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङको अनुपस्थिति थिए । छलफल करिब २ घण्टा चलेको थियो ।
एक महिनाको अवधिमा मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै तीन पटक बैठक राख्नेबाहेक अन्य महत्वपूर्ण निर्णय गरेका छैनन् ।