काठमाडौं । पेरिस पारालिम्पिक–२०२४ बुधबार (आज) देखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पारालिम्पिकमा भाग लिन नेपाली खेलाडी पेरिस पुगिसकेका छन् ।
तेक्वान्दाेमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोवर्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी समेत टुङ्गो लागेको छ । मङ्गलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुङ्गो लागेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग प्रतिस्पर्धा हुनेछ । उनले स्पर्धा के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि १२ खेलाडी रहेका छन् । भरत वाइल्ड कार्डमार्फत पारालिम्पिकमा छनोट भएका हुन् ।
यस्तै के–४४ क्याटगोरीकै महिला ५७ केजीमुनि पलेसाले भेनेन्जुएलाकी भलेरिया मोराल्सविरुद्ध अगष्ट ३० तारिख खेल्नेछन् । यस स्पर्धामा ११ खेलाडी रहेका छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।
पलेसाले छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेका थिए ।
छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी समेत हुन्। पलेशा १९औँ एसियाली खेलकुदमा पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् । पदकको आशा गरिएकी पलेसासँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ । त्यस पारालिम्पिकमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसँग चुकेका थिए।
नेपाली पारा तेक्वान्दो टोली इङ्ल्यान्डको म्याचेस्टरमा एक महिनाको तयारी र प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको हो । तेक्वान्दो टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो सङ्घ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन ।
पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दै छन् ।