काठमाडौं । नेपाललाई हराउँदै बंगलादेशले साफ (दक्षिण एसियाली फूटबल महासंघ) यू–२० च्याम्पियनपशिप फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) को मुख्यालयको खेल मैदानमा बुधबार भएको फाइनल खेलमा बंगलादेशले नेपालमाथि ४–१ गोलको जीत निकाल्दै उपाधि हात पारेको छ ।
यसअघि २ पटक फाइनलमा पुगेको बंगलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनशिपमा बंगलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बंगलादेश उपविजेतामा सीमित बनेको थियो ।
बंगलादेशको जीतका लागि बुधबारको खेलमा मिराजुल स्लामले २ गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान १–१ गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औं मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ७१औं मिनेटमा बंगलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए ।
खेलको ८१औं मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बंगलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरेका थिए ।
बंगलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा १ गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बंगलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जीत हासिल गर्यो । हारसँगै साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ ।
नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनशिपका नामबाट सुरुआत भएको च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो ।