काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना नहुने बताएका छन्। बलियो राज्यको निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रूपमा राजनीतिक दलहरूको विकास अपरिहार्य रहेको उनको भनाई छ।
शनिवार सामाजिक सञ्जालमार्फत उनले भने, ‘वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना रहँदैन। त्यसैले बलियो राज्यको निर्माणका लागि बलियो राष्ट्रिय शक्तिका रूपमा राजनीतिक दलहरूको विकास अपरिहार्य छ।’
‘लामो समय नेपालका राजनीतिक दलहरूले राज्यसत्ताका विरुद्ध सङ्घर्ष गर्नु परेका कारणले नेपाली समाज राज्यसत्ताको विपक्षी जस्तो बन्न पुगेको छ। नेपाल राष्ट्रको विकास र समृद्धिका लागि राज्य हाम्रो हो भन्ने साझा मनोविज्ञानको विकास जरुरी छ।’
महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको दाबी गरे। उनले भने, ‘नेपालीको मौलिक संस्कृतिमा भइरहेको विघटनले राज्यलाई थप कमजोर बनाइरहेको छ।’
उनले वर्तमान सरकारको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिले चरम आर्थिक सङ्कट सिर्जना भएको उल्लेख गरे। उनले सरकारकै कारण देशबाट ठुलो संख्यामा नागरिकहरू वैदेशिक रोजगारीमा पलायन भइरहेको उल्लेख गरे।
‘जबसम्म हामीले मुलुक भित्रको श्रम शक्तिलाई उद्यमशीलता र रोजगारीका माध्यमबाट राष्ट्रनिर्माणको काममा लगाउन सक्दैनौ तबसम्म विकास र समृद्धिको कुरा कोरा कल्पना मात्र हुनेछ।’ महासचिव पोखरेलले भने, ‘आउनुहोस् विकास र समृद्धिको बाटोमा मुलुकलाई कसरी अघि बढाउन सकिन्छ विषयमा केन्द्रित भएर राजनीतिक विमर्श गरौँ। सही राजनीति नै समग्र नीतिहरूको नीति हो।’