काठमाडौं । मंगलबारको संसद् बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘जुँगाको लडाइँ’ सतहमा देखिएको छ । डेडिकेटेड र ट्रंकलाइनका विषयमा प्रचण्डले ओलीप्रति गम्भीर टिप्पणी गरे । ओलीले फेसबुकमा ‘९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्छ’ भनेर लेखेका थिए । यस विषयमा पनि प्रचण्ड आक्रोशित बनेका थिए ।
प्रधानमन्त्री ओलीकै कारण विद्युत् प्राधिकरणले उद्योगीबाट बक्यौता महसुल उठाउन नसकेको प्रचण्डको भनाइ थियो । पैसा उठाउन केही उद्योगको लाइन काटियो, लाइन जोड्न ठाडो निर्देशन ओलीले दिएको उनले हाकाहाकी भनिदिए । उनले २१ अर्ब ८८ करोड रुपैयाँ विद्युत् महसुल उठाउने निर्णय मन्त्रिपरिषद्बाट गर्न पनि भनेका छन् । प्राधिकरण र यसका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयलाई लिएर अहिले ओली–प्रचण्डबीच जुँगाको लडाइँ उत्कर्षमा पुगेको बुझ्न सकिन्छ । १८ घण्टे लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको व्यक्तित्व नायकझैं बनेको छ ।
यदि ओलीले पूर्वाग्रह राखेर घिसिङलाई हटाउन खोजे भने यही विषय नै आगोको झिल्को बन्न बेर लाग्दैन । उसो त हालै विद्युत् महसुल उठाउनुपर्छ भनेर अडान राखेका दुई सञ्चालकलाई सरकारले हटाउँदा आम जनतामा नकारात्मक सन्देश गएको छ । प्राधिकरण र घिसिङको विषयलाई लिएर ओली–प्रचण्डबीच चलेका शीतयुद्धले कसैलाई फाइदा गर्दैन । आम जनता उज्यालोका नायक मानिएका घिसिङ कसैको कोपभाजनमा नपरून् भन्ने चाहन्छन् । उनले जित्नु भनेको अर्बौं विद्युत् महसुल उठ्नु हो । न्याय र जनताको भावनाले जित्नु हो ।
तर शक्तिको बलमा प्रधानमन्त्री, ऊर्जामन्त्री र महसुल नतिर्ने उद्योगीहरू घिसिङलाई खलनायकमा परिणत गर्न खोज्दै छन् । एकैछिन सोचौं त, लोडसेडिङका ती दिनहरू कति सकसपूर्ण थिए । विधार्थी पढ्न पाउँदैन थिए । गृहिणीहरूले त्यस्तै सास्ती भोगेका थिए । उद्योग, कलकारखाना धराशायी बनेका थिए । उता, कमिसनमा रमाउनेहरू जेनेरेटर र इन्भर्टरको व्यापारमा मक्ख थिए ।
तर घिसिङ त्यो अन्धकार चिर्न उज्यालो बनेर आए । देशलाई समृद्धितर्फ लैजान मरिमेटेर लागिपरेको घिसिङलाई चौतर्फी कमजोर बनाउने प्रयास भइरहेको छ । यसर्थ यो बेला जनस्तरबाट उनलाई अपार समर्थन र सहयोगको अवश्यकता छ । अनि मात्र देश बनाउने अन्य नायकहरूका पनि मनोबल बढ्छ । देश बनाउनेलाई साथ दिने कि बिगार्नेलाई ? जनताले यो अवश्य बुझेका छन् ।