काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेका हुन्।
राष्ट्रिय टोलीमा कप्तान अरूणा शाही, प्रगति नाथ, सरस्वती चौधरी, उषा भण्डारी, निरूता ठगुन्ना, सोफिया पुन, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरती सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्ति कला तामाङ र कामना विष्ट रहेका छन्।
यसैगरी मुख्य प्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक भरत यादव , व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयले सम्मानित कुल १८ मध्ये अधिकांशको खातामा रकम जम्मा भैसकेको पनि जानकारी दिएको छ । खाता नम्बर नमिलेको केहि खेलाडीको हकमा भने आज साँझ सम्म रकम जम्मा हुने बताइएको छ।
सम्मानपछि प्रधानमन्त्री ओलीले सुविधा कम हुँदा पनि खेलाडीहरूले दिलाएको सफलताको लागि टोलीलाई बधाई दिए।