काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडि बढेको बताएकी छन।
बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन ।
उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको जानकारी दिइन् । उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइन ।
शिक्षामन्त्री भट्टराईले भनिन्, ‘‘अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस् । सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै अगाडी बढेका छौँ ।’
राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उनको भनाइ छ । उनले सिटीईभिटीलाई पुनःसंरचना गर्नका लागि काम अगाडि बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिए ।
‘‘सिटीइभिटीलाई हामीले पुनःसंरचना गर्नुपर्छ । २०४५ सालको आवश्यकता आज २०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ । नयाँ ढङ्गले निर्माण गरेका छैनौँ । त्यही नीतिबाट मार्गदर्शिक छौँ । सिटीईभिटीलाई पुनःसंरचना गर्ने सोचेँ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि दुई वटा टिम बनाएर जिम्मेवारी दिएका छौँ ।,’’ उनले भनीन्, ‘‘पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने हामीले हिजोसम्म भन्ने गरेउ, नेपालीहरु पढ्ने यहाँ । तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ । त्यहाँ नै हामी गलत भयौँ ।’’
उनले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बिच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले शिक्षा भनेको ज्ञान मात्रै नभइ सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताए ।