काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताएका छन । बिहीबार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षासम्बन्धी कार्यक्रममा बोल्नुहुँदै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन।
उनले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गरे । उनले नेपालका पाइलटहरुले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियमभन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको जिकिर गरे ।
महानिर्देशक अधिकारीले नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणीत भइरहेको उल्लेख गरे । उनले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवि पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भीर हुन आवश्यक रहेको बताए ।
उनले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जङ्गलमा ठोकिएर भएको बताए । उनले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भए पनि पाइलटहरुले पालना नगरेको धारणा औंल्याए ।
उनले तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरुको हवाई दुर्घटनामा मृत्यु भएको बताए । उनले जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गरे । उनले हवाई सञ्चालकहरु पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले सेयर होल्डरले उडान नगरभन्दा रेगुलेटरविरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गरे ।
उनले पछिल्लो दुई वर्षमा धेरै सेयर होल्डर पाइलटहरु हेलिकोप्टर दुर्घटना भएर मृत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरुलाई प्रश्न गरे । उनले सेयर होल्डरले हेलिकोप्टर उडान नगर भनेर सर्कुलर विरुद्ध सर्वोच्च गएर उडान गर्दा कति सेयर होल्डर पाइलटहरु दुर्घटनामा परेकाले सञ्चालकहरुले सोच्न आवश्यक रहेको बर्ताए ।
महानिर्देशक अधिकारीले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजान खोज्दा भएको भन्दै अन्य कुनै समस्या नभएको बताए। उनले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधी अन्य ठाउँमा लगाई रहेको बताए ।
उनले लगानीकर्ताले हेलिकोप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरु तयार हुन आवश्यक रहेको जिकिर गरे । उनले सञ्चालकहरुले सर्वोच्च गएर गलत गरिए भन्ने र फेरि उक्त नियम लागू गर्नु आवश्यक रहेको औंल्याए।