काठमाडौं । राष्ट्रियसभाका सदस्य डा.अन्जान शाक्यले भिक्षु गुणघोष महास्थविरमाथि भएको साङ्घातिक आक्रमणको भर्त्सना गरेकी छन् । आजको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो भर्त्सना गरेकी हुन् ।
‘बुद्ध जन्मभूमि नेपालमा, परमपूज्य संघउपनायक ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि यहि २०८१ भदौ ६ गते बिहीबार भिमसेन टोल, धुलिखेलस्थित पूर्वाराम विहारमा राति साङ्घातिक आक्रमण भएको घटनाले सम्पूर्ण बौद्ध जगत लगायत मलाई पनि दुखित एवं स्तब्ध बनाएको छ । म उक्त घटनाको घोर भर्त्सना गर्दछु,’ उनले भनिन्, ‘नेपालको बुद्ध शासनिक क्षेत्रमा अत्यन्त सक्रिय र अन्तर्राष्ट्रिय रूपमा सम्मानित बौद्ध जगतमा प्रख्यात, वयोवृद्ध श्रद्धेय भिक्षु गुणघोष महास्थविरमाथि मरणासन्न हुने गरी साङ्घातिक आक्रमण गरिएको छ भने सुनियोजित रूपमा विहारमा लुटपाट गरिएको छ ।’
उनले उक्त घटना बौद्ध धर्माबलम्बीहरु माथि गरिएको कुकर्मको एउटा अत्यन्त क्रूर रूप भएको पनि स्मरण गराइन् । ‘यसैले यस्तो कुकर्म गर्ने क्रूर अपराधीलाई तत्कालै पक्राउ गरी हदैसम्मको सजाय दिन नेपाल सरकारका सम्बद्ध मन्त्रालय एवं सुरक्षा निकायसँग जोडदार माग गर्दछु,’ उनले भनिन्, ‘यस प्रकारका आपराधिक घटना भविष्यमा पुनः हुन नदिन तथा श्रद्धेय भिक्षुगणहरूको जिउ–धनको सुरक्षाको यथोचित उपाय समेत अवलम्बन गर्न गराउन तथा बौद्ध बिहारहरूको सुरक्षा गर्न समेत नेपाल सरकारसँग जोडदार माग गर्दै गम्भीर घाइते हुनुभएका सङ्घ उपनायक श्रद्धेय भिक्षु गुणघोष महास्थविरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
ललितपुर निवासी भिक्षु गुणघोष महास्थविर करिब ४५ वर्षदेखि सोही विहारमा बस्दै आउनु भएको थियो । धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यले पनि सङ्घ उपनायकमाथि भएको आक्रमणको भर्त्सना गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए । त्यसैगरी यो आक्रमण महास्थविरमाथिको मात्रै आक्रमण नभई बौद्ध र्धममाथिको आक्रमण भएको भन्दै आफूहरूले बुद्ध जन्मिएको देशमा अशान्ति फैलाउन नहुने भन्दै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएको उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनीमाथि आक्रमण गर्ने २० वर्षीय आदित्य श्रेष्ठलाई नियन्त्रणमा लिइसकेको छ । सङ्घ उपनायक महास्थविर धुलिखेल अस्पतालमा उपचारपछि आज डिस्चार्ज भएका छन् ।
विहारबाट करिब १ लाख ६५ हजार नगद चोरी भएको थियो । प्रहरीले आदित्य सहित चोरी भएको पैसा समेत बरामद भएको जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई चोरी तथा डाँका अभियोगमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।