काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा शुक्रबार भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।