विराटनगर । कोशी प्रदेशसभा बैठक आज शुक्रबार बस्दैछ ।
गत असार ८ गतेदेखि स्थगित बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन् । शुक्रबारको बैठकमा ३ वटै विधेयक संसद्मा पेश गरिनेछ ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ ।
प्रदेश सभामा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पास गर्ने तयारी रहेको जनाइएको छ ।
नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा अहिलेसम्म सहभागी हुन नसकेको नेपाली कांग्रेस संसद् बैठकमा सत्तापक्षकै बेञ्चमा बस्ने भएको छ ।
यसअघि असार ८ गतेको बैठकमा कांग्रेस प्रतिपक्षीको बेञ्चमा थियो । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सत्तापक्षमा पुगेको छ । तर आन्तरिक भागबण्डा मिलाउन नसक्दा कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छैन ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको नाम पठाउन नसके पनि पूर्व सहमति अनुसार सत्तापक्षमै बस्ने जानकारी दिए ।