काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी, नासाको सहयोगमा बोइङ कम्पनीले निर्माण गरेको ‘स्टारलाइनर’ यान परीक्षणका लागि निस्किएका दुई अनुभवी अन्तरिक्ष यात्री झन्डै तीन महिनादेखि अन्तरिक्षमै अड्किएका छन् । चढेर गएको यान बिग्रिएपछि सुनिता विलियम्स ‘सुनी’ र ब्यारी विलमोर ‘बुच’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा सुरक्षित बसेका भए पनि घर फर्किन अझै ६ महिना कुर्नुपर्ने भएको छ ।
उनीहरूको अन्तरिक्ष यात्रा बोइङको स्टारलाइनर यानले व्यावसायिक उडान सुरु गर्नुअघिको अन्तिम परीक्षण थियो । तर, आठ दिनका लागि भनेर पृथ्वीको सतहबाट ४ सय ८ किमि माथि रहेको आईएसएस पुगेका उनीहरू महिनौंका लागि त्यतै अड्किने अवस्था आएको हो ।
नासाका यी दुई वरिष्ठ अन्तरिक्ष यात्री उडेको यानमा सुरुमा कुनै समस्या नदेखिए पनि पृथ्वीको कक्ष (अर्बिट) मा पुगेपछि समस्या देखिन सुरु भएको थियो । केही समस्याका बाबजुद यानलाई आईएसएससँग कुशलतापूर्वक डकिङ गर्न (जोड्न) उनीहरू सफल भए । केही मूल्यांकन र अध्ययनपछि नासाले ती अन्तरिक्ष यात्रीद्वय सोही यानमा नफर्किने र उनीहरूका लागि अर्को विकल्प खोज्ने निर्णय लिएको छ । अहिले उनीहरू नासाका अन्य ४ जना र रुसी अन्तरिक्ष कार्यक्रमका ३ जना अन्तरिक्ष यात्रीसँगै आईएसएसमा काम गरिरहेका छन् । आईएसएसले सामान्यतया ७ जनालाई आश्रय दिने गरेको भए पनि त्यहाँ १० जना बस्न पुग्ने क्षमता छ । सन् २००९ मा त १३ जनासम्म बसेको रेकर्ड छ ।
आगामी फेब्रुअरीमा दुई यात्रुसहित अन्तरिक्षमा जान लागेको स्पेस एक्सको क्रु ड्रागन क्याप्सुल यानमा थप दुइटा सिट समायोजन गरेर नासाले अड्किएका ती दुई यात्रीलाई घर फर्काउने तारतम्य मिलाउँदै छ । गत शनिबार नासाको ह्युस्टनस्थित जनसन स्पेस सेन्टरमा आयोजित कार्यक्रममा यस विषयबारे औपचारिक धारणा आउनु अघिसम्म ‘सुनिता र बुच अन्तरिक्षमा अलपत्र परे, यान बिग्रिएकाले अब उतै अड्किने भए’ भनेर अनेक अफवाह फैलिएको थियो । अन्तरिक्ष यात्रामा यस्ता चुनौती असाधारण नभएको र आउँदा दिनमा दुवै यात्री आईएसएसमा बसेर विभिन्न खोज, अन्वेषण र वैज्ञानिक परीक्षणका काममा लाग्ने नासाले जनाएको छ ।
‘सुनिता र बुच दुवै जना नासाको यस निर्णयमा सहमत छन् र अब स्पेस स्टेसनबाटै उनीहरूले अन्तरिक्ष मिसनका थप क्रियाकलाप जारी राख्नेछन्,’ नासाको उडान सञ्चालन निर्देशक नर्म्यान नाइटले भनेका थिए, ‘उनीहरू त्यहाँ अलपत्र परेका छैनन्, स्पेस स्टेसनमा सुरक्षित र खुसीसाथ काममा लागेका छन् ।’ सुनिताकी आमा युर्सुलाइन बोनी पाड्याले सम्भवतः छोरीको यो अन्तिम अन्तरिक्ष यात्रा रहने र अहिले जोखिम मोलेर फर्किनुभन्दा केही ढिलै भए पनि सुरक्षित तवरले आउनु उचित हुने प्रतिक्रिया दिएकी छन् । ‘म एक व्यावसायिक अन्तरिक्ष यात्रीकी आमा हुँ र यस्ता कुराहरू म बुझ्छु, त्यसैले धेरै चिन्तित छैन,’ उनले हालैको एक अन्तर्वार्तामा भनेकी छन्, ‘अन्तरिक्षमा गइसकेपछि जे पनि हुन सक्छ । मेरै छोरीको साथी फ्रान्क रुबियो ६ महिनाका लागि गएका थिए तर एक वर्षभन्दा धेरै उतै बस्नुपर्यो । यत्ति चाहन्छु, छोरी सुरक्षित रहुन् ।’
पृथ्वीको तापीय मण्डल तहमा रहेर पृथ्वीलाई दैनिक डेढ घण्टामा एक पटक परिक्रमा गर्ने दुई प्रमुख अन्तरिक्ष केन्द्रमध्ये आईएसएसमा विभिन्न १५ देशका अन्तरिक्ष संस्थाहरूको समन्वय रहेको छ । अमेरिकाको नासा, रुसको रसकसमस, युरोपको ईएसए, जापानको जेएएक्सए र क्यानडाको सीएसएजस्ता एजेन्सीले संयुक्त रूपमा प्रयोग र व्यवस्थापन गर्दै आएको सो केन्द्र सन् १९९८ यता निरन्तर सञ्चालनमा छ । यस्तै, चीनले आफ्नै पहलमा सन् २०२१ यता सञ्चालन गर्दै आएको तियाङगङ अन्तरिक्ष केन्द्रले आईएसएसकै हाराहारीको उचाइमा रहेर पृथ्वीलाई परिक्रमा गर्छ । त्यहाँ पनि अहिले ३ जना अन्तरिक्ष यात्री छन् ।
अन्तरिक्षमा हाल घुमिरहेका १२ यात्रीमध्ये सबैभन्दा धेरै ४ सय ६ दिन (बिहीबारसम्म) अन्तरिक्षमा बिताउने ५८ वर्षीया सुनिता विलियम्स नै हुन् । दोस्रोमा ३ सय ९० दिन बिताइसकेका माइकल बरेट छन् । माइकल गत मार्च ४ मा स्पेस एक्सको क्रु–८ मिसनमा थप तीन साथीसहित अन्तरिक्षको यात्रामा निस्किएका थिए । गत अप्रिल २५ को उडानबाट तियाङगङ स्पेस स्टेसनमा पुगेका तीन चिनियाँ यात्रीमध्ये ये उआङफु हालसम्म ३ सय ८ दिन अन्तरिक्षमा बसिसकेका छन् ।
सुनिता र बुच अन्तरिक्षमा अड्किएको खबर सार्वजनिक भएसँगै आजभन्दा ३३ वर्षअघि यसरी नै अन्तरिक्षमा अनिश्चितकालका लागि अड्किएका फ्लाइट इन्जिनियर सर्गेई क्रिकालेभको रोचक र साहसिक प्रसंग अहिले धेरैको स्मृतिमा आइरहेको छ । तत्कालीन सोभियत संघको पालामा अन्तरिक्ष यात्रामा गएका सर्गेई सोभियत संघ विघटन भएर स्वतन्त्र राज्यहरू स्थापना भएपछि पृथ्वीमा फर्किने विषय अन्योलपूर्ण बनेको थियो । आफूलाई अन्तरिक्षमा पठाउने देश नै अस्तित्वमा नरहेपछि पाँच महिनाका लागि पृथ्वी छोडेका उनी कहिले, कहाँ, कसरी घर फर्किने भन्नेमा अनिश्चितता सिर्जना भएको थियो । १९९१ मे १८ मा सोभियत संघका नागरिकका रूपमा सोयुज टीएम–१२ यानमार्फत उनी त्यहाँ पुगेको ७ महिनापछि सोभियत संघ विघटन भयो । मिखाइल गोर्भाचेभले संघको राष्ट्रपतिबाट राजीनामा दिँदा सर्गेईलाई पृथ्वीमा फर्काउने हल्ला चले पनि कुनै पहल भएन । कतिले उनलाई ‘अन्तरिक्षमा छोडिइएका मानिस’ भनेका थिए ।
१९९२ मार्चमा जर्मनीको सहायतामा अन्ततः उनी पृथ्वीमा फर्किन त पाए तर घरको ठेगाना बदलिसकेको थियो । अन्तरिक्षमा जाँदा सोभियत संघअन्तर्गतको काजकस्तान बैकोनुर स्पेस सेन्टर उनी फर्किंदा स्वतन्त्र काजकस्तान मातहत थियो भने उनको घरको ठेगाना लेनिनग्राड पनि बदलिएर सेन्ट पिटर्सबर्ग बनिसकेको थियो ।
पछिल्ला दिनमा रुसले अमेरिकी सरकारको प्रतिबन्धका कारण समस्यामा परेको आफ्नो अन्तरिक्ष उद्योगलाई सुधार्न खोजिरहेको छ । सन् २००१ मा रुसले मिर स्पेस स्टेसनलाई आफ्नो अक्षबाट निकालेर पृथ्वीको तल्लो वायुमण्डलमा ल्याई त्यसलाई टुक्र्याएर मिसन समाप्त गर्यो । सन् १९९८ मा स्थापना भएको आईएसएसमा भने २००० अक्टोबरदेखि अटुट रूपमा अन्तरिक्ष यात्रीहरू रहँदै आएका छन् । रोचकचाहिँ पृथ्वीमा रुस–अमेरिका, अमेरिका–चीनलगायत देशहरूबीच तँछाडमछाड र कटु सम्बन्ध रहे पनि अन्तरिक्षमा ती देशहरू एकै ठाउँमा मिलेर बस्दै आएका छन् । अन्तर्राष्ट्रिय एकताको उदाहरणीय स्थलका रूपमा पनि स्पेस स्टेसनलाई लिइन्छ । सुनिताले ११ वर्षअघि बनाएको एउटा भ्लगमा रुसी स्टेसनमा प्रवेश गर्दै ‘यहाँ राहदानी चाहिँदैन’ भनेर ठट्टा गरेको देखिन्छ ।
अहिले आईएसएसमा भएका नासाका चार अन्तरिक्ष यात्री अर्को महिना पृथ्वीमा फर्किदै छन् । सुनिता र बुच त्यहाँ रहने भएपछि नासालाई आफ्ना नियमित खोज, अनुसन्धान र वैज्ञानिक परीक्षणमा सहज हुने भएको छ । तर, अहिले अचानक दुई सदस्य थपिँदा आईएसएसमा ९ जनालाई सुत्ने ठाउँ, शौचालय र खाद्यान्न बन्दोबस्त गर्नुपर्ने भएको छ । ‘स्पेस स्टेसनमा सात वटा सुत्ने बाकस र तीन वटा शौचालय छन्,’ ६ महिना आईएसएसमा बिताएर हालै फर्किएका नासाका अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले बीबीसीसँग भनेका छन्, ‘पानी पर्याप्त छ, खाना पनि लगिएकै होला । भित्र खचाखच मान्छे भए पनि झ्यालबाट तल पृथ्वीमा हेर्दा हाम्रो नीलो ग्रहको अद्भुत दृश्य देखिन्छ ।’
सुनिता र बुच गत जुन ६ मा अन्तरिक्ष केन्द्रमा पुगेका थिए । अन्तरिक्ष परिक्रमा गर्दै उनीहरू आईएसएस नजिक आइरहेका बेला स्टारलाइनरका पाँच वटा थ्रस्टर (इन्जिन) बिग्रिए । त्यसले गर्दा डकिङ अर्थात् अन्तरिक्ष यानहरू स्वचालित रूपमा आपसमा जोडिने प्रक्रिया लगभग एक घण्टा ढिलो भयो । यसका साथै क्याप्सुलको प्रोपल्सन प्रणालीबाट हिलियम ग्यास चुहावट भएको पनि पत्ता लाग्यो । एनबीसी न्युजका अनुसार यो समस्या यान प्रक्षेपण हुनुअघि नै थाहा भए पनि उडानका क्रममा थप जटिल बनेको थियो । नासा र बोइङका इन्जिनियरहरूले टेस्ट इन्जिन प्रयोग गरी प्रक्षेपणअघि पनि समस्या पहिचान र समाधानका लागि पहल गरेका थिए । निकै थोरै मात्रामा हिलियम चुहावट भएकाले त्यसले ठूलो असर नगर्ला भन्ने सोचेर उडान सञ्चालन गरिएकामा त्यही नै त्रुटि हुन पुगेको बताइन्छ ।
निरन्तर समस्यामा बोइङ
२०१४ सेप्टेम्बरमा नासाले अन्तरिक्ष यानको व्यावसायिक उडानका लागि बोइङ र स्पेस एक्स दुवै कम्पनीलाई अर्बौं डलरको परियोजना उपलब्ध गराएको थियो । बोइङले ४.२ अर्ब डलर र इलन मस्कको स्पेस एक्सले २.६ अर्ब डलरको टेन्डर प्राप्त गरेका थिए । त्यसयता स्पेस एक्सले नासाका लागि यात्रीसहितका ९ वटा अन्तरिक्ष उडान सञ्चालन गरिसकेको छ भने कतिपय व्यावसायिक उडान पनि सम्पन्न गरेको छ । बोइङको भने यात्रीसहितको यो पहिलो मिसन थियो । यसअघि यात्रीबेगरको उडानमा पनि स्टारलाइनरमा प्राविधिक समस्या देखिएका थिए ।
बोइङले जारी गरेको विज्ञप्तिमा अन्तरिक्ष यात्री र अन्तरिक्ष यान दुवैको सुरक्षाका लागि कम्पनीले थप गम्भीरता अपनाउने उल्लेख छ । कम्पनीको वेबसाइटमा स्टारलाइनरलाई २१ औं शताब्दीको अत्याधुनिक यानका रूपमा व्याख्या गर्दै यो उन्नत प्रविधि एवं वेल्डिङबिना बनेको संरचना र ६ महिनाको टर्नअराउन्ड समयसँगै १० पटकसम्म पुनः प्रयोग गर्न मिल्ने यानका रूपमा दाबी गरिएको छ । यसमा यात्रीहरूको सुविधाका लागि वायरलेस इन्टरनेट र ट्याब्लेट प्रविधि उपलब्ध छ । तथापि, स्पेस एक्सको तुलनामा पछाडि परेको र हरेक मिसनमा प्राविधिक समस्या देखिएको भन्दै बोइङको आलोचना भइरहेको छ ।
नासाले अन्तरिक्षमा अड्किएका अन्तरिक्ष यात्रीलाई स्पेस एक्सको यानबाट फिर्ता ल्याउने घोषणा गरेपछि कम्पनीको प्रतिष्ठामै धक्का लागेको बोइङका कर्मचारीहरूको गुनासो छ । न्युयोर्क पोस्टसँगको कुराकानीमा बोइङका एक कर्मचारीले स्टारलाइनरको समस्या समाधान गरेर अन्तरिक्ष यात्रीलाई सोही यानमा फिर्ता ल्याउन सकिने विकल्प हुँदाहुँदै नासाले प्रतिस्पर्धी कम्पनीको सहायता लिने घोषणा गर्नु अपमानजनक भएको प्रतिक्रिया दिएका छन् । बोइङले स्टारलाइनर निर्माणका लागि नासाले दिएको सुरुवाती ४.५ अर्ब डलरले नपुगेर १.५ अर्ब डलर थप लगानी गरेको थियो । यो घटनापछि बोइङले लामो समयदेखि प्राप्त गर्न खोजिरहेको नासाको प्रमाणपत्र पनि अनिश्चित बनेको छ ।
अन्तरिक्ष उडानमा होडबाजी
नासाले स्पेस एक्स र बोइङमार्फत सञ्चालन गरिरहेको ‘कमर्सियल क्रु प्रोग्राम’ अन्तर्गत बोइङले यो परीक्षण उडान सञ्चालन गरेको थियो । अमेरिकी निजी क्षेत्रसँगको सहकार्यमा यात्रीहरूलाई अमेरिकाबाट लो–अर्थ अर्बिट र आईएसएससम्मको सुरक्षित, भरपर्दो र सुपथ मूल्यमै भ्रमणको अवसर दिन यो कार्यक्रम ल्याइएको नासाले आफ्नो वेबसाइटमा जनाएको छ । नासा आफैंले व्यावसायिक अन्तरिक्ष पर्यटनको सेवा नदिने भए पनि यसले निजी कम्पनीसँग मिलेर अहिलेलाई पृथ्वीको आधा चक्कर, पूरा चक्कर, पृथ्वीभन्दा बाहिर र भविष्यमा चन्द्रमामा समेत सयर गर्ने योजनाहरूमा सहजीकरण गर्दै आएको छ । अन्तरिक्ष पर्यटन यात्राका लागि हाल स्पेस एक्स, भर्जिन ग्यालेक्टिक, ब्लु अरिजिन, एक्सियम स्पेस, बोइङ, अर्बिटल एसेम्ब्ली कर्पोरेसनजस्ता कम्पनीहरू सक्रिय रूपमा लागिपरेका छन् ।
सन् २००१ मा २० मिलियन डलर खर्चमा सोयुज–टीएम ३२ यानमा चढेर अन्तरिक्षको भ्रमण गरेका अमेरिकी व्यवसायी एवं इन्जिनियर डेनिस टिटोलाई पहिलो अन्तरिक्ष यात्रा गर्ने पर्यटक मानिन्छ । सन् २००३ र २००४ बाहेक २००८ सम्म हरेक वर्ष एक/एक जनाले अन्तरिक्षको यात्रा गरेका थिए । सन् २००९ मा दुई जनाले अन्तरिक्ष भ्रमण गरे । आधुनिक अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भने प्रविधि व्यवसायी इलन मस्कको कम्पनी स्पेस एक्सले सन् २०२१ मा ४ सर्वसाधारण नागरिकलाई अन्तरिक्षमा पुर्याएसँगै सुरुवात भएको मानिन्छ । स्पेस एक्सले इन्स्पिरेसन–४ मिसनअन्तर्गत तीन दिनको यात्रामा उनीहरूलाई पृथ्वीदेखि ५ सय ६३ किमिको उचाइमा पुर्याएर फर्काएको थियो ।
सन् १९७० को दशकसम्म अन्तरिक्ष अन्वेषण, कार्गो ढुवानीजस्ता अन्तरिक्ष कार्यक्रमहरू सबै सरकारी नियन्त्रणमा थिए । सन् १९६२ मा अमेरिकाले कम्युनिकेसन स्याटलाइट एक्ट ल्याएपछि व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रले पनि अन्तरिक्षको प्रयोग गर्न सहज बन्यो । निजी क्षेत्रमा सबैभन्दा प्रभावशाली स्पेस एक्सले कार्गो ढुवानी, अन्तरिक्ष पर्यटनसँगै स्याटलाइट इन्टरनेट सेवा दिंदै आएको छ । स्पेस एक्सले पृथ्वीको कक्षमा सीमित नरहेर भविष्यमा चन्द्रमा र मंगल ग्रहमा समेत मानिसलाई पुर्याउने लक्ष्य लिएको छ ।
यसै साताका लागि तय भएको स्पेस एक्सको पोलराइज डन मिसन प्राविधिक समस्याका कारण पर सरे पनि यसमा चार जना अन्तरिक्ष यात्री पृथ्वीको रेडिएसन बेल्टसम्म पुगेर त्यहाँ स्पेस वाक अर्थात् अन्तरिक्षमा पैदल हिँड्ने कार्यक्रम छ । यो पहिलो व्यावसायिक स्पेस वाक हुने दाबीसमेत गरिएको छ । कम्पनीले चन्द्रमा र मंगल ग्रहका लागि बनाइरहेको स्टारसिप यानमा सयर गर्न जापानका अर्बपति युसाकु मेइजावाले ‘डियर मुन प्रोजेक्ट’ को बुकिङसमेत गरिसकेका छन् । अमेजनका मालिक जेफ बेजसको कम्पनी ब्लु अरिजिनले निर्माण गरेको न्यु सेपर्ड यानले पृथ्वीको आधा चक्कर लगाउने सब–अर्बिटल मिसनमा यात्रीहरूलाई सयर गराइसकेको छ । सब–अर्बिटल मिसनमा एक सीमित उचाइसम्म पुगेपछि यानलाई पृथ्वीको गुरुत्वाकर्षणले तल तान्छ र यात्रुले भारशून्य महसुस गर्छन् । रिचार्ड ब्रान्सनको भर्जिन ग्यालेक्टिक कम्पनीले हालसम्म सफलतापूर्वक १२ वटा अन्तरिक्ष उडान सञ्चालन गरिसकेको छ । सन् २०२३ मा पहिलो पटक आफ्नो अन्तरिक्ष पर्यटन उडानका क्रममा ग्यालेक्टिकले १८ वर्षअघि नै टिकट काटेका बेलायतका खेलाडी जन गुडविनसहित क्यारबियनका आमा–छोरीलाई सब–अर्बिटल यात्रामा लगेको थियो । यस्तो यात्रा नियमित सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
अमेरिकाकै एक्सियम स्टेसनले विश्वको पहिलो व्यावसायिक अन्तरिक्ष केन्द्र स्थापनाका लागि प्रयास गरिरहेको छ । सुरुमा आईएसएसमा डकिङ गरिने भए पनि पछि स्वतन्त्र रूपमा रहने र अन्तरिक्षको यात्रा, खोज र अन्वेषण गर्न चाहनेलाई सुविधा दिने कम्पनीको योजना छ । अन्तरिक्ष उडानमा अनुभवी रुसी कम्पनी रसकसमसले पनि सोयुज यानमा पर्यटकलाई निरन्तर सिट उपलब्ध गराइरहेको छ । यसबाहेक पर्यटकलाई अन्तरिक्षको छेउमा पुर्याउने हाई–अल्टिट्युड बेलुन ट्रिपको पनि छुट्टै व्यवसाय चलिरहेको छ । स्पेस प्रस्पेक्टिभ र वर्ल्ड भ्युजस्ता कम्पनीले पृथ्वीभन्दा ५० किमि उचाइमा रहेको समताप मण्डलसम्म पुग्ने गरी बेलुन–बेस्ड ट्रिप उपलब्ध गराउँदै आएका छन् । सन् २०१२ मै अस्ट्रियन स्काइडाइभर फेलिक्स बौमगार्टनरले हेलियम बेलुनमा चढेर ३९ हजार मिटर उचाइबाट पृथ्वीमा हामफालेर विश्व कीर्तिमानी रचेका थिए ।
अन्तरिक्ष पर्यटनको विश्वव्यापी आकार सन् २०२३ सम्म करिब ८८८.३ मिलियन डलर रहेकामा सन् २०३२ सम्ममा २७.८६ बिलियन डलर नाघ्ने अनुमान छ । पुनःप्रयोग गर्न मिल्ने रकेटजस्ता उन्नत प्रविधिको प्रयोगले अन्तरिक्ष पर्यटनलाई थप सुपथ र सम्भावनायुक्त क्षेत्र बनाउने ठानिएको छ । यात्रा चाहना राख्ने धनाढ्यका आकर्षणले पनि लगानी थपिने अनुमान गरिएको छ । सरकारहरूले वित्तीय सहायता, नियमन मापदण्ड र पूर्वाधारमा सहजीकरण गरेर यो क्षेत्रलाई बढावा दिँदै आएका छन् । सन् २०२६ सम्म चन्द्रमामा आफ्ना नागरिक पुनः फर्काउने घोषणा गरेको अमेरिकाले त्यसको तयारीसमेत गरिसकेको छ ।
५० वर्षअघि अन्तिम पटक अपोलो १७ को उडानमा अन्तरिक्ष यात्रीहरू पुगेयता खर्चिलो र कम महत्त्वपूर्ण भएको भन्दै चन्द्रमामा जाने ३ वटा स्वीकृत उडान कटौती भएको थियो । त्यसयता अन्तरिक्ष यात्रा र अन्तरिक्षसम्म व्यावसायिक रूपमै र कम खर्चिलो उडान गराउन मिहिनेत गर्दै आएको अमेरिकालाई स्पेस एक्स, बोइङजस्ता कम्पनीको व्यावसायिक पहलले ३० गुणासम्म कम खर्चिलो बनाइदिएको तथ्यांक छन् । सन् २०३० सम्म चन्द्रमामा आफ्नै बेस बनाउने तयारीमा रहेको चीन, निरन्तर उडान गरेको भारतसँगै विभिन्न देशले अन्तरिक्ष यात्रामा १९६० कै दशकको झल्को दिने गरी सक्रियता बढाएका छन् । यसले अन्तरिक्षमा व्यावसायिक, रणनीतिक र प्राविधिक श्रेष्ठता सावित गर्नेको होड फर्काएको छ । तर सुनिता र बुचले भोगेको समस्याले मानव निर्मित प्रविधिको सीमितता पनि उजागर गर्छ ।