पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको दोस्रो बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएका बताएका छन् ।
एमालेका नेता–कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडि बढाउन भूमिका खेल्ने बताए ।
जनयुद्धका नाममा माओवादीका कार्यकर्ता मात्रै मारिएनन्, एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबी गरे ।
महासचिव पोखरेलले आन्तरिक प्रतिस्पर्धाले पार्टी एकता बलियो बनाउनुपर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्वाधिक महत्त्वमा राख्न आग्रह गर्दै मिसन ८४ को तयारीमा लाग्न आग्रह गरे ।
उनले एमालेलाई जनताको रोजाइको बहुमत प्राप्त पहिलो पार्टी बनाउन मिसन–८४ को अभियान भएको बताए ।
महासचिव पोखरेलले कांग्रेस–एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार भएको र यो समीकरण जनतामा आशाको सञ्चार जगाउन भएको उल्लेख गर्दै देशमा उत्पन्न अराजकता र अस्थिरताको अन्त्य गर्न बनेको बताए ।
नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आवश्यकता भएको भन्दै देशमा विकासको खाका कोर्दै प्रतिफलमा केन्द्रित भएको बताए ।