काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीका महामन्त्रीहरूले पार्टी बैठकमा ल्याएको प्रस्तावको औचित्य नभएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल स्वास्थ्यकर्मी संघ जनकपुरधाम उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै निधिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।
चुनावअघि गठबन्धन नगर्ने, व्यक्ति बहिर्गमन (एक्जिट पोलिसी) र १५औं महाधिवेशनको कार्यतालिका सम्बन्धी प्रस्ताव महामन्त्रीद्वयले फिर्ता लिनुपर्ने बताए ।
महासमिति बैठक हुँदै अनुमोदनका लागि केन्द्रीय समितिमा आएका प्रस्तावहरूमाथि अहिले छलफल चलिरहेको छ । महामन्त्री थापाले चुनावअघि गठबन्धन गर्न नहुने र १५औं महाधिवेशनको कार्यतालिका सम्बन्धी र महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ सम्बन्धी प्रस्ताव ल्याएका छन् ।
नेता निधिले ३ वटै प्रस्तावको आवश्यकता नरहेको र विधानविपरीत रहेको बताए । ‘एक्जिट पोलिसी’ सम्बन्धी प्रस्ताव कुनै पनि राजनीतिक दलका लागि उपयुक्त नभएको उनले बताए ।
नेता निधिले १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक मात्रै सांसद हुन पाउने प्रस्तावले पार्टी बलियो नबन्ने तर्क गरे । अवकाश सम्बन्धी व्यवस्था कर्मचारीलाई मात्र सुहाउने उनले बताए ।
उनले भने, ‘राष्ट्रपतिको, प्रधानमन्त्रीको मतदाता सांसद हुन्छन् । सांसदको मतदाता जनता हुन्छन्, देशभरमा पार्टीको जम्मा ८ लाख क्रियाशील सदस्य छन् । के कांग्रेसको त्यही ८ लाख सदस्यले प्रधानमन्त्री, राष्ट्रपति र सांसद चुनिन्छन् ? पार्टी बाहिरको विषयलाई विधानमा राख्न कुनै जरुरी छैन ।’