गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटघाट

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटघाट

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी र विश्व  बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच शुक्रबार भेटवार्ता भएको छ । 

गभर्नरको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटमा नेपालको वर्तमान आर्थिक तथा  वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक  कार्यदिशाका विषयमा छलफल भएको थियो ।  

भेटका क्रममा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय  समावेशीकरण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराएका छन् । 

सो अवसरमा उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिएको धारणा राखेका छन् । 

नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवर्द्धन, विद्युतीय भुक्तानीको प्रवर्द्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखेको राष्ट्र बैंकले जनाएको छ ।