काठमाडौं । पोखरामा ४ दिनसम्म फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहोर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहोर उठ्न नसकेको हो ।
स्थानीयले लामेआहालमा महानगरले फोहोर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभाबी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन् ।
महानगरले छ महिनाभित्रमा फोहोर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको अवरोधपछि पर्यटकीय शहरको फोहोर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको हो ।
वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रुपमा फोहोर लैजान छलफल भइरहेको बताए ।
पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहोर थुप्रिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौदेखिको ल्याण्डफिल साइटमा फोहोर लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायी रुपमा वडा नं ३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन गर्दै आएको थियो ।
पुस दोस्रो सातादेखि लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ ।