काठमाडौं । देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।
महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीनजना डेङ्गी रोगको सङ्क्रमणका कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
गण्डकी प्रदेशमा सबभन्दा बढी
डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार चार सय ४० देखिएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकी दुई हजार चार सय ४०, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमण देखिएको छन् ।
उपत्यकामा ६ सय १६
काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
यसका लक्षण के के हुन् ?
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिने, अरुचि हुने, ढाड जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने, पेट तथा आन्द्रामा गडबडी हुने, नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुनेलगायतका लक्षण देखा पर्न सक्छन्।
डेंगु संक्रमण हुनै नदिन के गर्ने ?
अहिले यसको लागि सबै जनाले पुरा बाहुला भएको कपडा वा पुरै शरीर ढाकिने खालका कपडा लगाएर बस्नु पर्दछ। यो एउटा भाइरसको रोग भएकोले यो भाइरस मार्ने नै भन्ने कुनै औषधि छैन। यो बाट बच्ने पहिलो उपाय र रोगकथाम भनेको नै लामखुट्टे नियन्त्रण गरेर आफ्नो शरीरको हेरचाह गर्नु हो। जसको लागि पानी जम्नसक्ने भाँडा बाहिर नराख्ने, पानीको ट्याङ्कीमा लामखुट्टे पस्न नदिने गरी राम्ररी ढाकेर वा बिर्को लगाएर राख्ने, फुलदानी वा गमलामा रहेको पानी हप्तामा दुई पटक फेर्ने, राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउनुपर्छ।
डेंगु सङ्क्रमण भएपछि खानपानमा कसरी ध्यान दिने ?
डेंगु सङ्क्रमण भएपछि पोसिलो आहार बिहारको आवश्यक पर्छ। भिटामिन सी भिटामिन डी, माछा मासुसँगै भात, दाल फलफूल खानु पर्दछ। डेंगुले बिरामीलाई धेरै कमजोर र शिथिल बनाउँछ। त्यस्तो हुदाँ कुनै पनि दुखाई मार्ने वा पेनकिलर आफैले किनेर खानु हुँदैन। त्यसले थप समस्या निम्त्याउन सक्छ। धेरै मात्रामा पौष्टिक तत्त्व र झोलिलो खोकुरा खाने गर्दा राम्रो हुन्छ।
डेंगु सङ्क्रमण भएपछि कस्तो अवस्थामा घरमै उपचार गर्ने र कुन समयमा अस्पताल जाने ?
धेरै नै टाउको दुख्यो र शरीरमा बिमिरा आयो भने तुरुन्त अस्पतालमा गएर डेंगुको परीक्षण गर्नुपर्छ। परीक्षण गराएपछि डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने, उपयुक्त मात्रामा व्यायाम गर्ने। तर बिरामीलाई तारनतार बान्ता हुने, धेरै पेट दुख्ने, कमजोरी भएर प्रेसर घट्यो भने भर्ना गरेर नै उपचार गर्नुपर्छ। कोही कोही बिरामीमा सेतो रगत कम भयो भने आईसीयूसमा नै लैजानु पर्दछ।
डेंगु भइसकेपछि के के गर्ने ?
यसको लागि लक्षण कुनै देखियो भने अस्पताल गएर जाँच गर्नु पर्दछ। ज्वरो, रुघा खोकी लागेपछि पर्खिएर बस्ने भन्दा आफूलाई के भएको हो भनेर जान्न अस्पताल गएर परीक्षण गराउनुपर्छ। यस्तो परीक्षणपछि मात्र उपचार कसरी गर्ने भन्ने थाहा हुन्छ। यस्ता परीक्षणले रगतको उतारचढाव बारे जानकारी हुन्छ। लक्षण देखिएपछि यो केही होइन भनेर घरमा नै बस्दा समस्या भएर अकालमा मृत्यु नै हुनसक्छ।