काठमाण्डौं । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनीमा चितुवा घुम्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । कान्तिपुर कोलोनीसँगै यस आसपासका क्षेत्रहरु लोहाचोक, शोभाहिटी, नख्खुडोल, सुनाकोठीलगायतका ठाउँमा चितुवा घुम्न थालेपछि स्थानीय बासिन्दा हिँडडुल गर्न समेत डराउन थालेका छन् ।
एक महिनाभन्दा लामो समयदेखि यस क्षेत्रमा ४ वटा चितुवा देखा परेका स्थानीयबासिन्दाले बताएका छन् । चितुवाको त्रास बढेपछि वडा नम्बर १४ कार्यालयले सूचना निकालेर मर्निङ वाक र इभिनिङ वाक नगर्न स्थानीय बासिन्दालाई सचेत गराएको छ ।
चितुवाबारे डिभिजन वन कार्यालय ललितपुर र प्रहरीलाई जानकारी गराएको एक महिना भईसक्दा पनि चितुवा नियन्त्रण वा रोकथामका लागि सरोकारवाला निकायबाट प्रभावकारी पहल नभएको कान्तिपुर कोलोनी टोल विकास समितिका अध्यक्ष जितेन्द्र भण्डारीले बताए ।
पछिल्लो समय बन क्षेत्र नजिक र केही शहरी क्षेत्रका मानव बस्तीमा चितुवा देखिन थालेका छन् । बाघ र चितुवा जस्ता वन्यजस्तु बस्ती पस्ने र घरपालुवा जनावर तथा मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । वर्खाको समयमा बन्यजस्तु बासस्थान छोडेर मानव बस्तीमा पस्ने जोखिम धेरै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट श्याम कुमार शाहले बताए।
उहाँले जोखिमयुक्त क्षेत्रमा अँध्यारोको समयमा एक्लै नहिँड्न, घर वरिपरि भएका झाडी सफा गर्न, कृषिजन्य फार्म घरभन्दा टाढा राख्न, घरपालुवा जनावरलाई भित्रै व्यवस्थित रुपमा राख्न र सकेसम्म बस्तीमा रातको बेला उज्यालो बनाउन सुझाव दिए ।