सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आगामी ८४ सालको चुनावमा कर्णालीले रास्वपालाई सबैभन्दा बढी मत दिने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा उनले सदैव विकासमा छुटेको कर्णालीलाई अब रास्वपाले जोड्ने बताए ।
कर्णालीले पटक–पटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधिहरूले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे । उनले भने, ‘कर्णालीले जितेन, सधैं हार्यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।’
राजनीतिमा आँट, तागत र ढंग हुनु आवश्यक रहेको बताउँदै उनले आगामी निर्वाचनमा पुराना नेताहरूलाई स–सम्मानका बिदा गर्ने जिकिर गरे ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका उनले भने, ‘विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन ।’ घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ८४ सालको चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे ।
पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताए । उनले रास्वपा ४ महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गरेका छन् ।