काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो ठाउँमा जारी झरी सोमबारसम्म नै रहने जनाएको छ ।
आईतबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले झरी र ठूलो पानी पर्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सरिरहेकाले पूर्वमा केही कम पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशका मध्य र पश्चिममा सोमबार साँझसम्म नै पानी पर्ने सम्भावना छ ।
बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केहीबेर पानी रोकिने र परिहाल्ने क्रम सोमबारसम्म नै चल्ने जनाइएको छ । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको पनि जोखिम रहेको महाशाखाले जनाएको छ ।
कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि आईतबार राति भारी वर्षाको सम्भावना छ । झरी सोमबारदेखि कम हुने भए पनि मनसुनको समय बाँकी नै रहेकाले बेलाबेलामा पानी पर्ने क्रम भने चलिरहने महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार रातिदेखि कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दैलेख, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, पाल्पा, चितवन, अर्घाखाँची, रुपन्देही, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं उपत्यकाका ३ वटै जिल्ला, रुपन्देही लगायतका ठाउँमा ठूलो पानी परेको छ ।