काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ वटा संकायका डीनका लागि आवेदन माग गरेको छ । त्रिवि सभा तथा कार्यकारी परिषद् छनौट समितिले विभिन्न संकायको डीनका लागि आवेदन माग गरेको हो ।
अध्ययन संस्थान तथा संकायका डीनसँगै शिक्षा तथा विकास अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक तथा योजना निर्देशनालयको निर्देशक पदका लागि समेत आवेदन माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ अनुसार आवेदन माग गरिएको हो ।
आजदेखि सातभित्रमा आवश्यक कागजातसहित आशयपत्र पठाउन भनेको हो । चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनका लागि आवेदन माग गरेको हो ।
त्यस्तै व्यवस्थापन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, शिक्षा शास्त्र संकायको डीनका लागि समेत आवेदन माग गरेको हो । त्यस्तै शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक र योजना निर्देशनालयको निर्देशकका लागि समेत आवेदन माग गरेको हो ।
यसका लागि कुनै पनि राजनीति दलसँग आबद्ध नरहेको स्वघोषणा गर्नुपर्ने त्रिविको कानुनी व्यवस्था छ । सोही आधारमा स्वघोषणा गरेको कागजपत्र पेश गर्नुपर्ने र पछि दलका सदस्य रहेको पाइएमा कारबाही गरिने त्रिविले जनाएको छ ।