काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई साताको बिचमा मातहतका कमिटीलाई दोस्रो पटक परिपत्र (सर्कुलर) जारी गर्यो । साउन २५–३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णय सम्बन्धमा माओवादीले भदौ २ गते मातहतका कमिटीमा परिपत्र जारी गरेको थियो । तर परिपत्र जारी भएको दुई हप्तामा फेरि अर्को परिपत्र जारी गरेपछि नेताहरू नै आश्चर्यमा परेका छन् ।
नेताहरूले दुई साताको बिचमा थपिएको विषयमा किन अक्षर 'बोल्ड' गरेर परिपत्र जारी गरियो भनेर चासो व्यक्त गरेका हुन् । ‘मिति २०८१ भाद्र २ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको परिपत्रमा बोल्ड गरिएका विषयहरू थप गरी पुनः परिपत्र गरिएको ब्यहोरा जानकारी गराइन्छ’, अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।
पार्टी निर्माण र विचार सश्लेषणबारे उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले स्थायी समिति बैठकमा १४ बुँदे लिखित फरक प्रस्ताव पेस गरेका थिए । उक्त फरक मतमा उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सचिवालयबाट जनार्दनले पार्टी विभाजन गर्न लागेको हल्ला फैलाउने काम भएको भन्दै तीव्र असन्तुष्टि पोखेका थिए । शर्माले पार्टी विभाजन लागेको भन्ने सम्बन्धमा प्रचण्डले नै क्लियर गर्नुपर्ने अडान राखेका थिए ।
साउन ३१ गते बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टी फुटाउने आफ्नो उद्देश्य नभएको भनेर जनार्दनबाट स्पष्ट कुरा आइसकेको भन्दै अब कुनै भ्रम पाल्न आवश्यक नभएको बताएका थिए । शर्माले राखेको फरक मतलाई तल्लो कमिटीसँग लैजाने र फुटबारे आफ्नो सचिवालयबाट बाहिरिएको विषयमा छानबिन गर्ने समेत प्रचण्डले प्रतिबद्धता जनाएका थिए ।
साथै प्रचण्डले बैठकमा उठेका विषय परिपत्रमा उल्लेख गर्ने स्पष्ट पारेका थिए । तर पहिलो पटक जारी भएको परिपत्रमा प्रचण्डले प्रतिबद्धता जनाएअनुसार विषय उल्लेख भएन । त्यसपछि शर्माले भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएका परामर्श बैठकमा सोसम्बन्धी प्रश्न उठाएका थिए । स्थायी समिति बैठकमा अध्यक्षले प्रतिबद्धता जनाए अनुसारको विषय परिपत्रमा उल्लेख नभएपछि प्रचण्डसँग प्रभाकर झोक्किएको एक केन्द्रीय सदस्यले बताए ।
‘पार्टी फुटको विषयमा अध्यक्षले क्लियर गर्ने कुरा उल्लेख नभएकोमा प्रभाकर कमरेडले प्रश्न उठाउनुभएको थियो । अर्को सचिवालयबाट नै पार्टी विभाजन गर्न लागिएको हल्ला फैलाएकोप्रति सत्यतथ्य पत्ता लगाउन छानबिन गर्ने भनिएको थियो । त्यो विषय किन समेटिएन भनेर असन्तुष्टि राख्नुभएको थियो । बैठकमा एउटा निर्णय हुने तर सर्कुलरमा ठिक ढंगले जारी नगर्ने, यस्तो तरिकाबाट पार्टी कहाँ चल्छ ?’, प्रभाकरको भनाइ उदृत गर्दै ती सदस्यले भने ।
त्यसपछि भदौ १५ गते यसबारे उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङ समेतले शर्माले उठाएको विषय परिपत्रमा उल्लेख भइसकेको दाबी गरेका थिए । तर शर्माले प्रतिवाद गर्दै ‘परिपत्रमा कहाँ छ' भनेर भनेर देखाउन चुनौती दिएपछि बल्ल अर्को परिपत्र जारी भएको ती नेताको भनाइ छ । स्रोतका अनुसार जनार्दनको असन्तुष्टिलाई बुझेर अध्यक्ष प्रचण्डले गुरुङलाई तत्काल अर्को परिपत्र जारी गर्न निर्देशन दिएकै कारण ‘बोल्ड’ सर्कुलर आएको हो ।
यस विषयमा महासचिव गुरुङसँग जिज्ञासा राख्दा उनले पार्टीको आन्तरिक विषय भएकाले बाहिर बोल्न आवश्यक नभएका प्रतिक्रिया दिए । ‘पार्टीमा वैचारिक, राजनीतिक बहस हुन्छन् । ती सबै विषय बाहिर बोल्न र मिडियाबाजी गर्न आवश्यक छैन’, उनले भने ।
के थपियो परिपत्रमा ?
कर्णाली प्रदेशको बैठकपछि अघिल्लो परिपत्रको ५ नम्बर बुँदामा केही विषय थप्दै नयाँ परिपत्र पठाइएको छ । जसमा स्थायी समिति बैठकको अन्त्यमा प्रचण्डले छलफलमा उठेका विषयहरूबारे स्पष्ट पार्दै संक्षिप्त रूपमा संश्लेषण गरेका थिए ।
पाँच नम्बरको पहिलो बुँदामा यसअघि भनिएको थियो, ‘सबै कमरेडहरूले मुलुकको परिस्थिति, सरकारमा रहेको समयमा भए गरेका काम–कारवाहीहरू, पार्टीको कार्यदिशा, कार्यनीति, पार्टी नेतृत्व, पार्टी संगठनका समस्याहरू लगायतका विषयहरूमा खुलेर छलफल गर्नुभयो । त्यसले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकको लागि प्रस्ताव तयार गर्न महत्त्वपूर्ण योगदान पुगेको भन्दै सवै कमरेडहरूप्रति आभार प्रकट गर्नुभयो ।’
आइतबार जारी गरेको परिपत्रको सोही बुँदामा ‘...सान्दर्भिक तथा आवश्यक विषयहरूलाई आगामी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने दस्ताबेजमा समेटिने विश्वास व्यक्त गर्दै’ भन्ने शब्दावली थप गरी बोल्ड गरिएको छ।
यस्तै अघिल्लो पटक दोस्रो बुँदामा भनिएको थियो, ‘बैठकमा अभिव्यक्त भएका कतिपय कमरेडहरूका भनाइहरू सञ्चार माध्यमहरूमा सार्वजनिकिकरण हुँदा त्यसले पार्टीलाई गम्भीर क्षति पुर्याउछ । पार्टी कमिटीमा अन्तर–जनवादको पूर्ण स्वतन्त्रता छ र हुने छ । तर पार्टी कमिटी भित्रका हरेक कुरा सार्वजनिकिकरण गर्नु पार्टीको सामान्य मूल्य–मान्यताको समेत गम्भीर उल्लङ्घन हुन जान्छ । अतः आगामी दिनमा त्यस प्रकारका कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन सवै कमरेडहरूप्रति हार्दिक आग्रह सहित बैठकको समापन गर्नुभयो ।’
सोही बुँदाको अहिले थपिएको परिपत्रमा भनिएको छ ‘...पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क.जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो । साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो ।’