काठमाडौंं । राष्ट्रिय सूचना आयोगले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेलाई कारबाही गर्न सिफारिस गर्दै ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ (१) बमोजिम उनीमाथि कारबाहीका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी तथा प्रवक्ता कमला ओली थापाले विज्ञप्तिमार्फत जनाएकी छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गे निवासी बसन्त गिरीले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुसमक्ष सूचना माग गरेकोमा तोकिएको समयमा सूचना नपाएपछि गिरीले सूचना आयोगमा गत वर्ष कात्तिक २० गते पुनरावेदन गरेका थिए ।
पुनरावेदनको सम्बन्धमा आयोगबाट तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका नाममा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा १० को उपदफा (२) बमोजिम ७ (सात) दिनभित्र आयोगसमक्ष लिखित व्यहोरा पठाउनू भनी कात्तिक २० गते आदेश भएकोमा तोकिएको अवधिभित्र कुनै जानकारी उपलब्ध नगराएकाले विपक्षीको नाममा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (३) को खण्ड (क) अनुसार ७ (सात) दिनभित्र सूचना उपलब्ध गराउन मंसिर २८ गते आदेश भएको थियो ।
आयोगबाट आदेश भएपछि पनि विपक्षीले कुनै सूचना उपलब्ध नगराएकाले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष पाण्डेका नाममा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ (१) बमोजिम कारबाही हुने व्यहोराको आदेश गत चैत १५ गते भएको र सोसम्बन्धी पत्र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निजलाई बुझाइसकेको आयोगको ठहर छ ।
‘नागरिकको संविधान प्रदत्त मौलिक हकको प्रचलनका लागि एक स्वतन्त्र आयोगबाट पटकपटक चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैर जिम्मेवार चरित्र प्रदर्शन गर्ने पदाधिकारीलाई दण्डित गर्नुको विकल्प आयोगसँग रहेन,’ आयोगकी प्रवक्ता थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ नागरिकको संविधानप्रदत्त र कानूनले व्यवस्था गरेको सूचनाको हकको उल्लंघन गर्ने तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका कार्यालय प्रमुख, अध्यक्ष जयप्रकाश पाण्डेलाई सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’