काठमाडौं । प्रतिनिधि सभाद्वारा गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सुर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीसँग छलफल गरेका छन् ।
साना किसानको तर्फबाट प्रस्तुति सुनिसकेपछि प्रतिक्रिया दिँदै सभापति सुर्य थापाले आफूले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरूले गरेको योगदान र हासिल गरेको सफलताले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । उनले सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुशी लागेको बताए ।
छानविन समितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुराहरूलाई हेर्ने क्रममा साना किसान कृषि सहकारीहरूले समाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनीय रहेको उनले बताए ।
उनले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणहरूमध्ये राष्ट्र बैंकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यान्वयन नहुनु एक रहेको औंल्याए ।
उनले देशभरका सहकारी दर्ता सूचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताए । सहकारीको सिद्धान्त, नीति, विधि, पद्धति र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउँदै उनले सहकारीको मर्म र भावना विपरीत सञ्चालन भएका सहकारीमा समस्या देखिएको बताए ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सहकारीले सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराएका थिए । उनले सबै सहकारीमा समस्या नरहेको बताउँदै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गरे ।
देशभरका साना किसान कृषि सहकारी संस्थाहरूमा समस्या नरहेको भन्दै उनले संस्थालाई नीति, विधि र पद्धतिमा सञ्चालन गर्न सके कुनै पनि संस्थामा समस्या नआउने तर्क गरे ।
आफूहरूले नेपाल कृषि सहकारी केन्द्रीय संघ र यसको सञ्जालमा रहेका संस्थाहरूमा अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउँदै समस्या आउनै नदिन अधिकतम पहल गरेको जानकारी गराएका थिए ।
अध्यक्ष पाठकले साना किसान कृषि सहकारीहरूले सञ्चालन गरेको १ खर्ब १२ अर्ब रुपैयाँ अहिले पनि सुरक्षित रहेको बताए । छलफलका क्रममा अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सीप, भण्डारण, औजार, सिँचाइ, बीउ, मल आदिमा सहयोग गर्नुपर्ने माग गरे । उनले किसानले उत्पादन गरेको मासु, दूध तथा अन्य कृषिजन्य वस्तुको बजारीकरण गर्न सके उत्पादन केन्द्रित काम गरिरहेका सहकारीहरूको समस्या समाधान हुने बताए ।
छलफल कार्यक्रममा २५ सहकारी संस्थाहरूका २८ जना सञ्चालक तथा प्रबन्धक, केन्द्रीय संघका अध्यक्षसहित पदाधिकारी, निमित्त महाप्रबन्धकसहित कर्मचारीको उपस्थिति थियो ।