ओखलढुङ्गा । एक महिनायता जिल्लाका दुई स्थानीय तहमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि जनप्रतिनिधि र कर्मचारी त्रसित बनेका छन् ।
असार ७ मा मोलुङ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, वडा नं. २ का अध्यक्ष, प्राविधिकसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले सिद्धिचरण नगरपालिका–१० मा भएको विद्युतीकरण योजनामा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मोलुङ–२ मा सडक निर्माण नगरी किर्ते कागजात तयार गरेर ३ लाख ८२ हजार ५० बराबरको योजना फरफारक गरिएको थियो ।
किर्ते कागज बनाई योजना फरफारक गरेको विषय स्थानीयले प्रशासन र पालिकामा उठाएपछि उक्त रकम उपभोक्ता समितिमार्फत फिर्तासमेत गराएको थियो । गाउँ सभाले नै अनियमित भएको रकम पालिकाको कोषमा जम्मा हुने गरी फिर्ता लिने विवादित निर्णय गरेको थियो ।
अख्तियारले मुद्दा दर्ता गरेपछि दोस्रो कार्यकालका लागि निर्वाचित वडा २ का अध्यक्ष टंक कार्की निलम्बित भएका छन् । सिद्धिचरण–१० मा विद्युतीकरणका नाममा खरिद गरिएको विभिन्न सामग्रीको भुक्तानी गर्न नमिल्ने ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भुक्तानी गरेको भन्दै अख्तियारले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
हाल खोटाङका प्रमुख जिल्ला अधिकारी रहेका खतिवडालाई गृह मन्त्रालयले आइतबार नै निलम्बन गरेको छ । अख्तियारले साना योजनाका विषयमा समेत धमाधम मुद्दा चलाउन थालेपछि स्थानीय तहका तत्कालीन र बहालवाला जनप्रतिनिधि त्रसित भएका छन् ।
जिल्लाका आठमध्ये धेरैजसो स्थानीय तहका योजनामा अनियमितता भएको उजुरी अख्तियारमा पुगेका छन् ।