काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सह प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौं आएका यात्रुलाई जबरजस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटेल सञ्चालक र होटेलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले शनिवार मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये चार जना होटेल सञ्चालक रहेका छन्। ‘सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने। प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ।
नेपाली होटेल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटेल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए। यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।
‘यात्रुले सुरुमै आफ्नो गन्तव्य स्थल पहिचान गरी काठमाडौं आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभाबी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन’, उनले भने।
सङ्घले पछिल्लो समय होटेल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थित रूपमा होटेल सञ्चालन गर्नका लागि होटेलमा अनिवार्य रूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ।