काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र उस्तै नम्बर प्लेट भएका ५ वटा मोटरसाइकल भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से७प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने २८ वर्षीय हिमाल खत्रीलाई पक्राउ गरेको छ ।
खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारीपश्चात थप अनुसन्धान गर्दै जाँदा अर्को मोटरसाइकल रहेको पत्ता लागेको छ ।
मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यबानेश्वरमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से७प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले शुक्रबार घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेका छन् ।
मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौंस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो । रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से७प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिइएको छ ।
अनुसन्धानका क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको छ । मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।
थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।
थप अनुसन्धान गर्दै जाँदा करीब १ महिना अगाडि से७प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको थियो । वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए ।
थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से७प ८५६२ भएको भन्सार पठाइएकोमा मोटरसाइकल आरोपी खत्रीको रहेको तथ्य खुलेको छ ।