रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा सुत्केरी महिलाको मृत्यु भएको घटनामा दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि मात्र शव पोस्टमार्टमका लागि पठाइएको छ।
इलाका प्रहरी कार्यालय गरुडामा गएराति बसेको दुईपक्षीय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्ने सहमति भएको छ ।
सहमति लगत्तै गएराति ११ बजे शिवनगर स्थित बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए।
दुई पक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि जैसवाल, मेयर प्रत्याशीहरु सुनिल कुमार यादव, ब्रिज किशोर यादव, अनिल कुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सिडिओ नरेश कुमार यादव, वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकमा मेयर जैसवालले नगरपालिकाबाट तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी बेथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीबार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो।
सुत्केरी पछि बढी रक्तस्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागी वीरगन्ज लगिएकोमा हिजो बिहान ९ बजे मृत्यु भएको थियो।
चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरूले शुक्रवार दिन भरी स्वास्थ्य चौकी शिवनगर अगाडि शव राखेर प्रदर्शन गरेका थिए ।